काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ ‘पल्सर स्पोर्ट्स अवार्ड २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डको १७ औं संस्करण भर्चुअल स्वरूपमा हुने लागेको हो । कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल हुन लागेको हो । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ ।
यसअघि, हजारौं खेलप्रेमी महानुभावका माझ हुने कार्यक्रम सीमित व्यक्तित्वको उपस्थितिमा आयोजना हुँदै छ । कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ ।हलमा सीमित व्यक्ति रहने भएकाले कार्यक्रम चारवटा राष्ट्रिय टेलिभिजनमा एकसाथ हुने भएको छ । नेपालका प्रमुख टेलिभिजन च्यानलहरू एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ । यस्तै, त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रमका निम्तालु भने जुममार्फत जोडिनेछन् ।
अवार्ड पुस २८ गते मंगलबार ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रम अपराह्न साढे ४ बजे शुुरू हुनेछ । कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ । नेपालमै पहिलोपटक हुन लागेको भर्चुअल रूपको यस किसिमको अवार्ड कार्यक्रम मञ्चले इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।
‘पल्सर स्पोर्ट्स अवार्ड’ विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।
पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राति १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहनेछ । आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत प्राप्त भइसकेको छ ।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै ‘पारा एथलिट सम्मान’, ‘स्पेसल, लाइफटाइम एचिभमेन्ट’, ‘टिम अफ द इयर अवार्ड’ र ‘अन्तर्राष्ट्रिय खेल पत्रकार’को सम्मान कार्यक्रमकै दिन घोषणा गरिने परम्परा छ ।वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैया“सहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाई) मा हुने कार्यक्रमको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंघी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।
प्रतिक्रिया