विद्यार्थी जति सामुदायिकमा, बोर्डिङ स्कुल बन्द !


नेपाल समाचारपत्र, पाल्पा

संस्थागत अर्थात् निजी विद्यालयको प्रभाव सामुदायिक विद्यालयमा परेको समाचार त सुनिएकै हो तर पाल्पाको सदरमुकाम तानसेननजिकै नगरपालिकाभित्रकै एउटा विद्यालयमा त्यसको उल्टो प्रभाव परेको छ ।

तानसेन नगरपालिका–१३ बौघागुम्हाको न्यु आइडल बोर्डिङ स्कुल (संस्थागत विद्यालय)मा अध्ययनरत विद्यार्थीहरू सामुदायिक विद्यालयमा पढ्न गएपछि बोर्डिङ स्कुल बन्द भएको छ । बोर्डिङ स्कुलमा अध्ययनरत करिब ६० जना विद्यार्थी नजिकैको सर्वोदय माध्यमिक विद्यालयमा भर्ना भएपछि न्यु आइडल बोर्डिङ स्कुल बन्द भएको हो ।

कोरोनाको प्रभाव र अन्य कारणले विद्यार्थी सरकारी विद्यालयमा गएपछि चालू शैक्षिक सत्रदेखि बोर्डिङ स्कुल बन्द भएको प्रिन्सिपल दिनेश रानाले बताउनुभयो ।

२०५३ सालमा स्थापना भएको उक्त बोर्डिङ स्कुलमा नर्सरीदेखि ५ कक्षासम्म पढाइ हुँदै आएको थियो । उक्त बोर्डिङ स्कुलमा ८ जना शिक्षकले पढाउँदै आएका थिए । विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नुपरेको रानाले बताउनुभयो ।

स्कुल बन्द भएपछि शिक्षकहरु पनि अन्यत्र लागेका छन् । एक जना शिक्षक भने सर्वोदय माविमा नै अध्यापन गराउन गएका छन् । बोर्डिङ स्कुल सञ्चालन भएको भवनमा अहिले कुखुरापालन व्यवसाय र होटल सञ्चालन हुँदै आएको छ ।

त्यसो त सामुदायिक विद्यालयको नजिकै अर्थात् करिब २०० मिटरकै दूरीमा न्यु आइडल बोर्डिङ स्कुल सञ्चालन गरिएको थियो ।

यस बोर्डिङ स्कुलमा गुणस्तरीय पढाइ नभएपछि सबै विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका स्थानीय अभिभावक प्रेमनाथ घिमिरेले बताउनुभयो । ‘अचेल फेसनका लागि बोर्डिङमा पढाउने चलन बढेको छ’, उहाँले भन्नुभयो– ‘बालबालिकाको पढाइ बोर्डिङभन्दा सामुदायिकमा राम्रो हुन्छ ।’

उता सर्वाेदय माध्यमिक विद्यालयले भने घरदैलोमार्फत नै बोर्डिङका सबै विद्यार्थी तान्न सफल भएको बताएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर रानाले बोर्डिङ स्कुल नै मर्ज गरेर सबै शिक्षकलाई विद्यालयमा ल्याउने प्रयास गरेको भए पनि शिक्षक नआएको तर सबै विद्यार्थी तान्न सफल भएको बताउनुभयो ।