मुक्तिनाथ मन्दिर खुल्यो


नेपाल समाचारपत्र, पर्वत

कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिनुभयो ।

मन्दिर खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने भएकाले म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् ।

कोरोना कहरका कारण नौ महिनासम्म बन्द रहेका म्याग्दी र मुस्ताङका पर्यटन तथा धार्मिक क्षेत्रहरू खुल्न थालेपछि व्यवसायले निरन्तरता पाउने आशा गरेको म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।

मुस्ताङका होटल व्यवसायी एवं होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले मुस्ताङका पर्यटकीयस्थल तथा मुक्तिनाथ मन्दिर खुला भएपछि यहाँको होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार मुक्तिनाथमा भएका होटलमा प्रतिदिन १ हजार ५ सय जनासम्म आन्तरिक पर्यटकलाई थेग्न सक्ने क्षमता रहेको छ । यस्तै, हरेक दिन ७ सय जनासम्म विदेशी पर्यटक मुक्तिनाथका होटलहरूमा रहन सक्ने अवस्था रहेको पनि उहाँले बताउनुभयो ।

विष्णु सहस्रनाम ग्रन्थका अनुसार मुक्तिनाथ भगवान् विष्णुका हजारवटा नाममध्येको एउटा नाम हो । भगवान् विष्णुलाई दामोदर पनि भनिन्छ । नेपालका चारधाममध्ये मुक्तिनाथ धाम पर्यटकीय क्षेत्रमा पर्ने भएकाले पनि यसको महŒव विशेष रहेको स्थानीयको भनाइ रहेको छ ।

यहाँ हिन्दू र बौद्ध धर्मावलम्बीहरूका साथै अन्य सम्प्रदायका व्यक्तिहरू पनि विभिन्न देशहरूबाट आउने गरेका छन् । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने चलन रहेको छ ।