प्रचण्ड पत्नीलाई लिएर भारततर्फ प्रस्थान 


काठमाडौं, (नेस)
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । नेपाल एयरलाइन्सबाट सोमबार प्रचण्ड पत्नीलाई लिएर मुम्बई प्रस्थान गर्नुभएको हो ।

सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई जानुभएको छ । सीताको उपचार न्युरोजेन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटमा हुने बताइएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्युरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्नेछ ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित हुँदै आउनुभएको छ ।

पछिल्लो समयमा भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहनुभएकी दाहाललाई थप उपचारका लागि मुम्बई लगिएको हो । सीतालाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।