पोखरेल र गुरुङमाथि कारबाही


काठमाडौं, (नेस)

सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै नेकपा प्रचण्ड–नेपाल समूहले ओली समूहका नेताहरुमाथि धमाधम कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको थियो ।

ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै प्रचण्ड–नेपाल समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त समूहमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले आलोपालो अध्यक्ष चलाउने सहमति भएको छ ।

त्यसै गरी पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड भारत प्रस्थान गरेसँगै नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले ओली समूहका लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरेको हो । पोखरेल लुम्बनी र गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएको छ ।

पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशको सह–इन्चार्जबाट खगराज अधिकारीलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने प्रचण्ड–नेपाल समूहकै नेता इन्चार्ज रहेका छन् । ओली समूहले पनि प्रचण्ड–माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ । पार्टी दुई समूहमा विभाजित भएसँगै नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाइएको छ ।