बेलायतबाट नेपाल फर्केका ५ कोरोना संक्रमितको स्वाब हङकङ पठाइँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त भाइरस नयाँ हो वा होइन भनेर परीक्षणमा लागि हङकङ पठाइने भएको छ । ‘जिन सिक्वेन्सिङ’ मार्फत् भाइरस नयाँ हो कि पुरानै हो भनेर पत्ता लगाउन हङकङ पठाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राखिएको पाँचै जनाको स्वाबलाई हङकङ पठाउन लागिएको हो । यो साता उता पठाएपछि अर्को सातासम्म भाइरस नयाँ हो होइन पत्ता लागि सक्ने मन्त्रालयले बताएको छ । पुसयता बेलायतबाट २ सय ३५ जना यात्रु नेपाल आएका बताइएको छ ।

अझै केही यात्रुहरूले परीक्षण गर्न बाँकी रहेको बताइएको छ। हाल उनीहरु क्वारेन्टिनमा छन् । बेलायतमा कोरोनाको नयाँ भाइरस देखा परेपछि नेपाल सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । यस्तै छिमेकी देश भारतमा पनि नयाँ कोरोना भाइरसको संक्रमण देखा परेको छ ।