काभ्रे कांग्रेसमा गुट मौलाउँदै, आन्तरिक विवादले विरोध प्रदर्शन प्रभावित


नेपाल समाचारपत्र, बनेपा

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चरम उत्सर्गमा पुगिरहेको बेला प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पनि छताछुल्ल हुन थालेको छ । सरकारको अलोकतान्त्रिक कदमको विरोध प्रदर्शनमा समेत पार्टीभित्रको गुटबन्दी हावी भएको भन्दै काभ्रे क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरुले पार्टीको आयोजनामा भएको कार्यक्रम बहिष्कारसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा सोमबार सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । काभ्रेको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ को भकुण्डेमा भएको विरोध प्रदर्शन भव्य भए पनि क्षेत्र नम्बर २ को बनेपामा भएको विरोध प्रदर्शन भने प्रभावकारी देखिएन । विरोध ¥यालीमा सहभागी भएका क्षेत्र नम्बर २ का केही प्रभावशाली नेता तथा कार्यकर्ताहरुले विरोध सभा बहिष्कार गरेका छन् ।

आप्mनै नेता तथा कार्यकर्ताहरुले कार्यक्रम बहिष्कार गरेपछि पछिल्लो समय सरकारले चालेको कदमका विरुद्ध आयोजित विरोध कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका केन्द्रीय सदस्य गुरुराज घिमिरे, जिल्ला सभापति मधुप्रसाद आचार्य, क्षेत्रीय सभापति कञ्चनचन्द्र बादे श्रेष्ठलगायतका नेताहरुको भाषण सुन्नका लागि ५० जना कार्यकर्ता जुटाउन पनि कांग्रेस क्षेत्रीय समितिलाई हम्मेहम्मे परेको देखियो ।

सरकारविरुद्धको कार्यक्रममा सहभागी हुन आफ्नो क्षेत्रको सबै वडाबाट आएका अगुवा कार्यकर्ता विरोध सभामा किन उपस्थित नभएको भन्ने बारेमा जिज्ञाशा राख्दा कार्यकर्ताहरु भन्छन्– ‘सरकारविरुद्ध होइन, आफ्नै पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन लड्नुपर्ने अवस्था आयो ।’ प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध बनेपामा विरोध ¥यालीपछि गोदामचोकमा विरोध सभा आयोजना गरिएको थियो ।

विरोध सभामा जिल्ला सभापति आचार्य र क्षेत्रीय सभापति बादेले आफ्ना गुटका नेताहरुलाई मात्र मञ्चमा बोलाएर बोल्न दिएपछि यो क्षेत्रका अन्य प्रभावशाली नेताहरु सुन्दरमणि आचार्य, माधव ढकाल, कुमार लामिछाने, प्रकाश थापालगायतका नेता तथा भ्रातृ संगठनका नेता कार्यकर्ताहरुले विरोधसभा बहिष्कार गरेका थिए ।

विरोध सभामा केन्द्रीय सदस्य गुरुराज घिमिरेको भाषण चलिरहँदा सभामा एक सयको संख्यामा नेता कार्यकर्ता मात्र उपस्थित रहेका थिए । बनेपाको विरोध प्रदर्शनपछि भएको कार्यक्रम बहिष्कार गरेको, नेता कार्यकर्ताहरुले जिल्ला सभापति मधु आचार्य र क्षेत्रीय सभापति कञ्चन बादेले गुटबन्दी गरेको चर्चाबारे नेता सुन्दरमणि आचार्य भन्नुहुन्छ– ‘तपाईंले जे सुन्नुभयो त्यो सत्य हो ।’

लोकतन्त्र खतरामा परेको बेला पार्टीभित्र आन्तरिक झगडा देखाउने कार्यप्रति आफ्नो गम्भीर आपत्ति भएको भन्दै उहाँले भन्नुभयो– ‘काभ्रे कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खोजी गर्नुपर्ने बेला आएको छ, त्यसको नेतृत्व मैले गर्छु ।’ अघिल्लो निर्वाचनमा प्रदेश सभातर्फ नेकपाका नेता लक्ष्मण लम्सालसँग पराजित आचार्यले २८ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।

बनेपामा भएको विरोध कार्यक्रममा भ्रातृ संगठन ट्रेड युनियन कांग्रेस, सांस्कृतिक संघ, जनजाति संघलगायतका भ्रातृ संस्थाहरुलाई समेत उपेक्षा गरिएको बताइएको छ । अघिल्लो निर्वाचनमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालकै दोस्रो बढी मत ल्याएर विजयी हुनुभएको यो क्षेत्रमा बढ्दै गएको कांग्रेसभित्रको आन्तरिक झगडालाई अन्य दलहरुले समेत चासोका साथ हेरिरहेका छन् ।

क्षेत्रीय सभापति बादेलाई संविधानसभाको चुनावमा जिताउन चुनावी कमान्डरको भूमिका निभाएका तथा अघिल्लो कार्यकाल संगठन विभागका प्रमुखसमेत भएर कार्य गर्नुभएका जिल्ला नेता प्रकाश थापा, भ्रातृ संगठनका प्रमुखहरु प्रेम शर्मा वाग्ले, हरि कर्माचार्य, रोशन लामालगायतका नेताहरुलाई समेत बनेपाको विरोध सभामा बेवास्ता गरिएको आरोप छ । नेविसंघका केन्द्रीय नेतासमेत रहेका माधव ढकाल पनि काभ्रे क्षेत्र नम्बर २ मा कांग्रेसको चरम गुटबन्दी रहेको भन्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत नगरी बाह्य लोकतन्त्र बलियो बनाउन नसकिने बताउनुहुन्छ ।

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ मा भने कांग्रेसभित्रको आन्तरिक एकता मजबुत देखिँदै गएको छ । क्षेत्रीय सभापति तिर्थ लामाको संयोजनमा भएको भकुण्डेको विरोध सभामा हजारौं कांग्रेस कार्यकर्ताहरु उपस्थित भएका थिए । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंको प्रमुख आतित्थतामा क्षेत्र नम्बर १ को भकुण्डेमा भएको कार्यक्रममा भने कांग्रेसका सबै नेताहरुको उपस्थिति रहेको थियो ।