सडकमा नेकपाको रमिता


नेपाल समाचारपत्र, बाँके

दुवैतिर चुनाव चिह्न सूर्य अंकित ब्यानर छ । एक थरीले जिन्दावाद भनिरहेका छन्, अर्को थरीले मुर्दावाद ।
बाँकेमा मंगलबार यी दुई दृश्य देखियो । नेपालगन्जमा मुर्दावादको नारा लागिरहँदा कोहलपुरमा जिन्दावाद घन्कियो । एकथरी रमिते भन्दै थिए, ‘कुकुरलाई घिउ नपचेपछि… ।’

देशव्यापी आन्दोलन थालेको प्रचण्ड–नेपाल पक्षले गाउँगाउँबाट कार्यकर्ता ल्याएर नेपालगन्जमा प्रदर्शन गरे । प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा चर्को नारा लाग्यो । ‘असंवैधानिक कदम खारेज गर, पार्टी फोड्न पाइँदैन, केपी ओली चाहिँदैन’ सूर्य अंकित झण्डा ओढेका कार्यकर्ताहरु सडकमा कराउँदै हिँडे ।

बीपीचोकबाट निस्केको यो समूहले बजार परिक्रमा गरेर त्रिभुवनचोकमा कोणसभा ग¥यो । तत्कालीन माओवादीका समर्थित अलि धेरै बाहुल्यता रहेको यो जुलुसमा विघटिन संविधान सभाका सदस्य महेश्वर गहतराज र संविधान सभाका सदस्य दलबहादुर सुनारले मन्तव्य राख्नुभयो । दुवै नेताले प्रचण्ड र माधव नेपालको गुनगान गाउँदा केपी शर्मा ओलीलाई गाली गर्नुभयो । ‘बयल गाडा चढेर अमेरिका पुगिन्न’ कार्यकर्ताको ताली खाने वाक्य बन्यो ।

नेता सुनारले बहुमत केन्द्रीय सदस्य रहेको समूहलाई अदालतले आधिकारिकता दिनुपर्ने जिकिर गर्नुभयो । यदि अदालतले संसद् पुनस्र्थापना र निर्वाचन आयोगले आधिकारिकता नदिए सडकबाटै राजा ज्ञानेन्द्रलाई फालेको जसरी केपी शर्मा ओलीलाई फाल्ने चेतावनी दिइयो । नेताले चोक बजारबाट रन्केर यत्तिको भाषण गरेपछि कार्यकर्ताहरु कम्ती खुसी भएनन्, केहीबेर ताजी बजाए ।

नेपालगन्जमा सरकारकाविरुद्ध मुर्दावाद भनिरहँदा कोहलपुरमा एकथरीले जिन्दावादको नारा लगाए । युवा नेता महेश बस्नेतको उपस्थितिमा ओली पक्षीय नेता तथा कार्यकर्ताहरुले प्रचण्ड र माधवकुमार नेपाल समूहलाई सरापे । बृहत् युवा भेलाका लागि बाँकेमा आइपुगेका बस्नेतको उपस्थितिमा ओली पक्षीय नेता तथा कार्यकर्ताले कोहलपुरमा जिन्दावादको नारा लगाएका थिए ।

बस्नेतले लामो समयसम्म पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्रीसमेत भइसकेका नेताहरुले पार्टी फुटाएर फेरि अध्यक्ष र प्रधानमन्त्री हुने सपना देखेको आरोप लगाउनुभयो । उहाँले माधव नेपाल र झलनाथ खनाललाई सूर्य चुनाव चिह्न चाहिएमा मूलघरमा फर्किन आह्वान गर्नुभयो ।

माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै नेता बस्नेतले भन्नुभयो– ‘भागी विवाह गर्नुभएको छ । थर र गोत्रको पनि डर छ । तपाईंहरुले हँसिया हथौडा लिन सक्नुपर्छ । सूर्य चिह्न चाहिएमा यतै आए हुन्छ ।’

बस्नेतले अदालतले संसद् पुनस्र्थापना गरिदिएमा राजनीतिक अराजकतासँगै अपराधीकरण बढ्ने बताउनुभयो ।
बस्नेतले प्रचण्ड–माधव समूहलाई पार्टीको माओवादी वा मालेमा नामकरण गरेर अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो– ‘पेरिसडाँडामा एमालेले दाबी गर्दैन । तपाईंहरु पनि बल्खुलगायत देशभरका एमालेले पसिना बगाएर बनाएका संरचनाहरुमा आँखा नलगाउनुस् । यदि हाम्रा सम्पत्तिमा आँखा लगाएमा देशभरका युवा विद्यार्थी चुप बस्दैनन् ।’

नेपालगन्जमा आइपुगेको प्रचण्ड–माधव समूहका केही नेता तथा कार्यकर्ताहरु कोहलपुर हुँदै आएका थिए । अर्को समूह पनि शक्ति देखाउन तयार हुँदै थियो । यस्तो स्थितिमा बाँके प्रहरीको ठूलो फोर्स दुवै समूहलाई जम्काभेट हुन नदिन खटिएको थियो ।