आन्दोलन गरेर भए पनि ओलीलाई पत्तासाफ गर्ने चेतावनी


नेपाल समाचारपत्र, काठमाडौं

आन्तरिक विवादले विभाजन भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले मंगलबार देशव्यापीरुपमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न प्रचण्ड–नेपाल समूहले तयारी गरेपछि संघीय संसद् विघटन गर्नुभएको थियो ।

संसद् विघटनलाई लिएर देशव्यापीरुपमा प्रधानमन्त्री ओलीको चर्को विरोध भइरहेको मौका छोपेर सो समूहले राजधानी काठमाडौंलगायत देशभर विरोध प्रदर्शन गरेको थियो । राजधानीका सो समूहका मुख्य नेताहरुले सम्बोधन गरेका थिए भने देशका विभिन्न शहरमा केन्द्रीय नेताहरुले सम्बोधन गर्दै ओलीले लोकतन्त्रको चीरहरण गरेको भन्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई बलात्कारीको संज्ञा दिँदै नेताहरुले संसद् पुनस्र्थापना नभएसम्म आन्दोलनलाई जारी राख्ने उद्घोषसमेत गरेका थिए । देशभर प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध नारासमेत लगाएका थिए । काठमाडौं उपत्यकामा बृहत् प्रदर्शन गरेको सो समूहले ‘आर्यघाटले के भन्छ केपी ओली ले भन्छ’ भन्ने अशिष्ट नारासमेत लगाएका थिए ।

राजधानीको आठ ठाउँबाट निस्किएको जुलुसले नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको थियो । विरोध सभामा बोल्ने वक्तामध्ये माधव नेपालले ओलीविरुद्ध चर्को भाषण दिनुभएको थियो । नेपालले प्रधानमन्त्री ओलीलाई पूर्वराजा ज्ञानेन्द्रसँग तुलना गर्दै पार्टीभित्र आफू इतरका नेतालाई गुलियो आश्वासन दिएर विभाजन गर्ने र आफू सत्तासीन हुन खोज्ने प्रवृत्तिले पार्टीमा विभाजन आएको बताउनुभएको थियो ।

अधिकांश समय ओलीविरुद्ध देखिनुभएका नेपालले अब आन्दोलन गरेर भए पनि ओलीलाई पत्तासाफ गर्ने चेतावनी दिनुभएको थियो । त्यसै गरी नेता झलनाथ खनालले केपी ओलीजस्ता तानाशाहले जनताको अधिकार खोसेपछि आफूहरु सडकमा आउन बाध्य भएको बताउनुभयो । ओलीले गुटको भ¥याङ चढेर पार्टी फुटाएको उहाँको आरोप थियो ।

सो विरोध प्रदर्शनमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई निरंकुशताको नाइकेको संज्ञा दिँदै ओली सरकार वैशाखपछि नरहने टिप्पणी गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको घोषणा नगरेको भन्दै ओलीको बिदाइ वैशाखमा नै हुने दाबी गर्नुभयो । उहाँले अहिले नेकपा विभाजन भएकाले आउँदो चुनावमा आफूहरुको पल्लाभारी हुने भन्दै मुख मिठो बनाएको सुनेको छु भन्दै त्यो पूरा नहुने ठोकुवासमेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले हँुदाखाँदाको बहुमतको सरकारलाई ढालेर वैशाखमा चुनाव गर्ने घोषणा गरे पनि त्यो चुनाव नहुने बताउनुभयो । उहाँले ओलीजी श्री ३ महाराज हुने तरखरमा हुनुहुन्छ भन्दै महाराजको सपना कहिल्यै पूरा नहुने बताउनुभयो । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले कसैको गोटी बनेर संसद् विघटन गर्नुभएको छ, यसले उहाँलाई राजनेता होइन खलनेताका रुपमा परिभाषित गरेको समेत आरोप लगाउनुभयो ।

चुनाव घोषणा गर्नेलाई नै वैशाखमा चुनाव हुन्छ भन्ने भरोसा नभएकाले ओलीको भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै अध्यक्ष प्रचण्डले यो विशाल उपस्थिति ओलीको कदमविरुद्ध भएकाले आउँदो चुनावमा पनि वामपन्थीले बहुमत हासिल गर्ने दाबी गर्नुभएको थियो । प्रचण्डले आफूले ओलीलाई समयमा चिन्न नसकेको भन्दै ओलीले जेजे भने त्यसलाई सत्य मान्दा अहिलेको स्थिति आएकोमा जनतासँग क्षमा मागेका थिए ।

यसैबीच सरकारविरुद्ध पहिलो चरणको आन्दोलन सफल भएको निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समूहले आज बुधबार दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । सो समूहले आज स्थायी समितिको बैठक बोलाएर आन्दोलनको घोषणा गर्ने भएको छ ।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले स्थायी समितिको बैठकले आन्दोलनको घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले दोस्रो चरणको कार्यक्रम अझै सशक्त हुने दाबी गर्नुभएको छ । कोरोना महामारीबीच भएको उक्त कार्यक्रममा मञ्चमा बस्ने सबै नेताहरुले मास्क लगाए पनि कार्यकर्ताहरु भने बिनामास्क हुलमुलमा सहभागी भएको देखिएको थियो । जुलुसमा सहभागी हुन अनिवार्य मास्क प्रयोग गर्न नेताहरुले आग्रह गरेको भए पनि त्यसलाई कार्यकर्ताले लत्याएका थिए ।