कोरोनाको खोप उत्पादनसँगै नयाँ रोगको चपेटा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले एक बर्षको अवधिमा विश्वका ८ करोड भन्दा बढी मानिस संक्रमित हुनुका साथै १७ लाख भन्दा बढीको मृत्यु भएको छ । विश्वमा ८ करोड १३ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित हुनुका साथै १७ लाख ७६ हजार ५ सय ३२ जनाको मृत्यु भैसकेको छ ।

यो अवधिमा विश्वका बैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धानले एक बर्षभित्रै तीनचरणमा परिक्षण समेत गरि खोप विस्तार गरेका छन् । खोप विस्तारसँगै अमेरिका र युरोपियन मुलुकहरुमा खोपको प्रयोग समेत भैसकेको छ । यतिबेला नेपालले पनि खोप भित्र्याउने बिषयमा आवश्यक तयारी गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्वको प्रयोगात्मक अभ्यासकै सिको गर्दै नेपालले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी, जेष्ठ नागरिक, नीजामती सेवामा कार्यरत कर्मचारी अर्थात् शिक्षकहरुलाई लक्षित गरि नेपाल सरकारले कोरोना भाइरसविरुद्धको खोपकालागि शिक्षकको विवरण संकलन कार्यको थालनी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा २ लाख ५८ हजार ८ सय ४० कोरोना संक्रमित भएकामा २ लाख ५० हजार ५ सय ८१ जना निको भएका र १ हजार ८ सय ३२ जनाको मृत्यु भएको जनाएको छ । संक्रमित हुनेमा जेष्ठ नागरिक, महिला, बालबालिका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिज्ञ, पत्रकारका साथ समुदायस्तरमा ठूलो संख्या रहेको छ । परिक्षणको दायरामा आएका व्यक्ति मात्र कोरोना संक्रमित नभै परिक्षणको दायरामै नआएका पनि संक्रमित भएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।

यस्तो अवस्थामा कोरोनाको निर्मूलीकरण गर्ने एउटै मात्र उपाय कोरोना भाईरस बिरुद्धको खोप विश्व व्यापी रुपमा सबै मानवले लगाउनु मात्र भएको बैज्ञानिकहरुको ठम्याईछ । विश्वले उत्पादन गरेको खोप नेपालमा पनि भित्र्याउने निर्णयमा पुगेको नेपाल सरकारले खोप कसरी लगाउँने र माध्यम कसरी तय गर्ने भन्ने योजनामा जुटेको छ । पहिलोचरणमा छनोट गर्ने क्रममा स्वास्थ्यकर्मी, जेष्ठ नागरिक, दीर्घरोगी र शिक्षक परेका कारण सरकारले शिक्षकको विवरण माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिक्षकको विवरण माग गर्दै स्वास्थ्य सेवा विभागले शिक्षा तथा विज्ञान मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभागको पत्रअनुसार सबैखाले विद्यालयमा काम गर्ने शिक्षकको विवरण माग गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
मन्त्रालयले शिक्षकहरुको नाम, फोन नम्बर, पढाउने विद्यालय, पद, नियुक्तिको मिति आदि सबै विवरण पठाउन निर्देशन सहितको पत्राचार गरेको जनाएको छ । देशभर झन्डै २ लाख शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् भने निजी विद्यालयको यस अघि सरकारसँग तथ्यांक नभएपनि अब अध्यावधिक हुने मन्त्रालयले जनाएको छ ।

कोरोना बिरुद्धको खोप १२ बर्ष मुनीका बालबालिकाका लागि नबनेको अवस्थामा नेपालको कूल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई दिने प्राथमिकता निर्धारण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ९ लाख ११ हजार र दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका जेष्ठ नागरिक र दीर्घरोगी गरी ५१ लाखलाई लक्षित गरिएको छ ।

त्यसैगरी तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाख र पाँचौ चरणमा १५ देखि ३५ वर्षसम्मका ४२ प्रतिशत नागरिकलाई खोप दिने तयारीका लागि सरकारले योजना बनाईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर सिमित खोप बनेसँगै विश्वले एकैपटक लगाउन सक्ने अवस्था छैन । यतिमात्र नभै पछिल्लो दुईसाता देखि बेलायतमा देखा परेको नयाँ कोरोना भाईरस (भेरियन्ट) ले कोरोना बिरुद्धको खोपले काम गर्ने नगर्ने एकिन छैन ।

यो भाईरस पहिलो चरणमा देखिए भन्दा परिवर्तित र नेपालका ल्याबमा परिक्षण समेत नहुने हुँदा थप जोखिम बढ्दै छ । नेपाल सरकारले बेलायतबाट सिधै र बेलायतको बाटो हुँदै नेपाल आउँने यात्रुहरुलाई नेपाल प्रवेश गर्नासाथै होटलमा बस्न र एकसाता भित्र पिसिआर परिक्षण निःशुल्क गरि सरकारलाई जानकारी गराउन निर्देशन दिँदै विशेष निगरानी बढाएको छ ।

नेपालमा यो अवधिमा २ सय ३९ जना बेलायतको बाटो हुँदै नेपाल भित्रिएको र उहाँहरुको कोरोना परिक्षण गर्नुका साथै विशेष निगरानी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी गराउनुभयो । यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेका अनुसार अहिले नेपालका कुनैपनि प्रयोगशालामा पछिल्लोपटक बेलायतमा देखा परेको नयाँ कोरोना (भेरियन्ट) को परिक्षणका लागि अपडेट नगरिएकाले एकसाताभित्र नेपाल आएका व्यक्तिहरु मध्ये केहीमा कोरोना पुष्टि भैसकेको भएपनि कुन खालको हो भन्न सक्ने अवस्था छैन ।

नेपालमा भित्रिएका र कोरोना पुष्टि भएका ५ जनामा पुरानै कोरोना भाईरस भएको अनुमान गरि विशेष निगरानीमा उपचार भैरहेको छ । कोरोना संक्रमणलाई सामान्य नमानी विगतमा जस्तै सुरक्षा अपनाई माक्स, स्यानीटाईजर प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने र भीडभाडबाट सकेसम्म टाढै रहनुपर्ने डा.पाण्डे बताउँनुहुन्छ ।

कुनैपनि रोगको खोप उत्पादनका लागि लामो अध्ययन अनुसन्धान गरि ५ देखि १० बर्षको परिक्षण पछि मात्र बजारमा आउँने गरेको भएता पनि कोरोना भाईरस विरुद्धको खोप भने विश्वका बैज्ञानिकहरुले छोटो समयमानै अध्ययन अनुसन्धान गरि उत्पादनको स्वीकृति पाएकै कारण विश्व बजारको माग अनुसार एकैपटक सप्लाई गर्न सक्ने सम्भावना कमै छ । यो रोगको उपचार तथा औषधि नभएको र भर्खरै खोप उत्पादन भैरहे पनि नेपालमा भित्रिनसकेको र भित्रन अझै समय लाग्ने हुँदा व्यक्तिगत सुरक्षा अपनाउनुको विकल्प नभएको डा.पाण्डे बताउँनुहुन्छ ।