नेपालमा पनि नयाँ भाइरसको आशंका


नेपाल समाचारपत्र, काठमाडौं
पछिल्लो समय बेलायतमा नयाँ प्रजातिको कोरोना (भेरियन्ट) पुष्टि भएसँगै बेलायतबाट एकसाताअघि नेपाल आएका दुई जना नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

यही पुस ३ गते बेलायतबाट नेपाल आएका दुई नेपालीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ प्रजातिको आशंका गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको बुझिएको छ ।

आशंका गरिएका दुवै जनामा ६ दिनअघि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बेलायतमा नयाँ कोरोना प्रवेश गरेसँगै नेपालले उच्च सतर्कता अपनाई बेलायतबाट नेपाल आएका यात्रुहरुको विशेष निगरानी गर्नुका साथै बेलायतको उडानबाट नेपाल आउन रोक लगाइसकेको छ । बेलायत सरकारले यसअघि नै पुस १ गतेदेखि ७ गतेसम्म बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो । नेपाल आएसँगै उच्च ज्वरो आएपछि उनीहरु स्वाब परीक्षणका लागि सिनामंगलस्थित डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरमा गएका थिए ।

उक्त प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको सेन्टरका कार्यकारी निर्देशक सुनिल लेखकले जानकारी गराउनुभयो । ‘उहाँहरु हामीकहाँ स्वाब परीक्षणका लागि आउनुभएको थियो । उहाँहरुमा कोरोना पोजेटिभ देखिएपछि बेलायतबाट आएको हुनाले हामीले स्वास्थ्य मन्त्रालयलाई जानकारी गरायौं ।

मन्त्रालयलाई जानकारी गराएलगत्तै बिहीबार नै हामीले नयाँ भेरियन्ट भाइरस हो कि होइन भनेर जिन सिक्वेन्सिङका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौं ।’ –लेखकले बताउनुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना संक्रमण पुष्टि भए तापनि नयाँ प्रजातिको भेरियन्ट भाइरस भए नभएको अझै पुष्टि भइनसकेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि नै बेलायतबाट नेपाल आएका मानिसहरुको निःशुल्क कोरोना जाँच गर्न सबै प्रयोगशालालाई निर्देशन दिइसकेको छ र धमाधम पोजेटिभ रिपोर्ट आउन थालेकाले मन्त्रालयले थप सतर्कता अपनाउन निर्देशन गरेको छ ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले नेपालमा हाल कोरोना पुष्टि भएका बिरामीमा पहिलाकै भाइरस हो र अहिलेसम्म नेपालमा पीसीआर परीक्षणका लागि स्वीकृत प्राप्त ल्याबबाट नयाँ भाइरस संक्रमण पुष्टि सम्भव छैन भन्नुभयो । ‘हाम्रोमा भएका पीसीआर मेसिनले कोरोनाको नयाँ प्रजातिको भाइरस चिन्ने गरी सेटअप गरिएको छैन ।’ –पाण्डे बताउनुहुन्छ ।

यदि लक्षण देखियो र कोरोना रिपोर्ट नेगेटिभ आयो भने मात्र शंका गर्नुपर्ने अवस्था आउँछ । यस्ता बिरामीको परीक्षणको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई तोकिएको छ । बेलायतबाट आएका ५ जनामा पहिला जस्तै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।