‘सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्वीकार्य’


पुष्कर बुढाथोकी, भक्तपुर

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवले संसद् विघटनका बारेमा सर्वोच्च अदालतको निर्णय जे भए पनि कांग्रेसलाई स्वीकार्य हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सोमबार नयाँ ठिमीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसैलाई नेपाली कांग्रेसले स्वीकार गर्दै अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।

कांग्रेसले सर्वोच्चको फैसलालाई सधंै स्वीकार गर्दै आएको र अब पनि सर्वोच्चको फैसलालाई शिरोधार्य गर्ने बताउनुभयो । उहाँले कांग्रेसले अदालतलाई तर्साउने, धम्काउने र अनावश्यक दबाब दिने काम हिजो पनि नगरेको र अब पनि दबाब दिएर निर्णय गराउनेतर्फ नलाग्ने बताउनुभयो ।

सरकार र संसद्ले बदमासी गरे पनि अदालतले बदमासी नगर्नेप्रति नेपाली कांग्रेस विश्वस्त रहेको भन्दै सरकारले संसद् विघटन गरी निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कांग्रेस कसरी अगाडि बढ्ने भन्ने केन्द्रीय कार्यसमितिको बैठक बसी निर्णय लिने देउवाले स्पष्ट गर्नुभयो ।

नेपाली कांग्रेस सरकारको असंवैधानिक कदमविरूद्ध एक्लै आन्दोलन गर्ने भन्दै देउवाले कांग्रेसले गर्ने अबको विरोध कार्यक्रमका लागि नेपाली कांग्रेसका कार्यकर्तालाई तयार भएर बस्न निर्देशन गर्नुभयो ।

पञ्चायत कालमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै उहाँले अब पनि अदालतले न्याय दिनेमा कांग्रेस विश्वस्त रहेको बताउनुभयो । अहिले संसद् विघटनको मुद्दा अदालतमा रहेकाले यसको पक्षविपक्षमा नलाग्ने बताउँदै कांग्रेस जिम्मेवार पार्टी भएकाले अहिले कोरोना महामारीको बेला पनि प्रदर्शनमा आउन बाध्य भएको देउवाले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, नेताहरु नारायण खायमली, जीवन खत्री, प्रदीप कार्की, सुरेन्द्र श्रेष्ठलगायतका नेपाली कांग्रेसका नेताहरुले सरकारको असंवैधानिक कदमविरुद्ध आलोचना गरेका थिए ।