इमानदार नेताको दल


सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः विभाजन भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको घोषणा गरेसंँगै मुलुकको राजनीतिमा तीव्र ध्रुवीकरण सिर्जना भयो, परिणामस्वरूप सत्तारूढ दल विभाजन नै भयो । विभाजनको आधार सैद्धान्तिक भने छैन, वैचारिक आधार वा दर्शनलाई लिएर विभाज नभएको भए यसको गरिमा भिन्न हुने थियो । लोकतान्त्रिक तथा प्रगतिशील दर्शन र सिद्धान्तको आधारमा विभाजनको रेखा कोरिनु त परको कुरा नेपालको संविधान–२०७२ कै उल्लंघन गरेर दल विभाजन भएको छ ।

प्रधानमन्त्री ओली पक्षको मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एक वर्षपछि आउँदो मंसिर २ गतेदेखि महाधिवेशन गर्ने घोषणा गरेको छ भने प्रचण्ड समूहले त्यस्तो मिति तय गरेको छैन । तर, प्रचण्ड खेमाको भेलाले संसदीय दलको नेता प्रचण्डलाई तोकेको छ । एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन् । आम कार्यकर्तालाई निरास पार्दै नेताहरुले व्यक्तिगत फाइदाका लागि नेकपा विभाजन गरेपछि नेपाली कांग्रेस भने उत्साहित भएको छ ।

उसले आउँदो वैशाखमा चुनाव भए पहिलो ठूलो पार्टी हुने आंँकलन गर्दै सरकारी कदमको भित्रभित्रै समर्थन गरेको छ । नेकपामा देखिएको विभाजनको फाइदा दक्षिणपन्थी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत लिने देखिन्छ भने मधेवादी दलहरुको भविष्य पनि सकारात्मक देखिन्छ । मुलुकलाई नै दुर्भाग्यमा लैजाने निर्णयको साक्षी अहिले ओलीलाई मात्र देखाउन खोजिए पनि त्यसको दोष प्रचण्ड र माधवकुमार नेपाल समूहलाई पनि जान्छ ।

सरकारको हरेक काम जहाँ आर्थिक चलखेल गरिन्छ, त्यसमा आफ्नो भाग खोज्ने अभ्यास नै दल विभाजनको मूल आधार बन्यो । आर्थिक चलखेलको अवस्था सिर्जना गर्नु ओली पक्षको दोष हो भने त्यसको भाग खोज्नु प्रचण्ड र नेपाल पक्षको कमजोरी ।

प्रस्ट छ, कमजोरीभन्दा दोष बढी आपत्तिजनक छ । यसले आउँदो चुनावमा दुवै पक्षलाई अकल्पनीय क्षति पु¥याउने लगभग पक्कापक्की देखिन्छ । अहिले केन्द्रीय राजनीतिमा मात्र देखिएको विभाजनको छायाँ अब विस्तारै प्रदेश सरकारमा पर्नेछ । प्रदेश सरकार ढाल्न दुवै पक्ष आतुर भएर लागेका छन् । अहिलेको अवस्था हेर्दा प्रदेश–१ बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सरकार परिर्वतन हुने संकेत आइसकेको छ । यी तीनै प्रदेशमा ओली समूहका मुख्यमन्त्री रहेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने प्रचण्ड समूहका मुख्यमन्त्री रहेका छन् भने प्रदेश नम्बर २ भने मधेसवादी दलको तर्फबाट मुख्यमन्त्री रहेका छन् ।

एक दलका कारण मुलुक नै अस्थिर अवस्थामा धकेलिनु पक्कै राम्रो होइन । जनताले नालायकहरुलाई दुई तिहाइ बहुमतको उपहार दिएर गल्ती गरेको हो कि भन्ने भान पनि हुन्छ । ओलीको अधिनायकवादी शैली र प्रचण्ड–नेपाल समूहको असहिष्णुताले नेपाली जनताको भावनामा गहिरो चोट लागेको छ । मुलुकलाई बर्बादीतर्फ लैजाने नेकपालाई जनताले छोड्नुहुँदैन । तर, विगतमा सत्तामा पुगेका नेकालगायतका दलहरु पनि भ्रष्टाचारमै रमाउने गर्थे । त्यसैले विगतमा इमानदार भनेर चिनिएका नेताहरुको संगठन खडा भएर अगाडि आउनु आवश्यक भएको छ ।