चितुवापीडित परिवारलाई राहत

0
Shares

बैतडी, (नेस) । 

चितुवाको आक्रमणबाट पीडित परिवारले राहत पाएका छन् । मृत्यु भएका परिवार र चितुवा मार्ने क्रममा घाइते भएकालाई शिवनाथ गाउँपालिकाले राहत तथा उपचार खर्च दिएको हो ।

गत कात्तिक २४ गते चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी शिवनाथ गाउँपालिका–४ बगराकी माया महताको परिवारलाई ५० हजार र चितुवा मार्ने क्रममा घाइते भएका चार जनालाई उपचारका लागि जनही २० हजार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । मृतक माया महताका बुत्रा दुर्गासिंह महतालाई राहतस्वरूप ५० हजारको चेक प्रदान गरिएको छ ।

यस्तै किशोरीको ज्यान लिने नरभक्षी चितुवा मार्ने क्रममा घाइते भएका कृष्णसिंह महता, अर्जुनसिंह महता, रामसिंह महता र सुरेन्द्रसिंह महतालाई उपचारबापत २०–२० हजारको चेक प्रदान गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई र घाइते भएकालाई उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेसँगै राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष साउदले बताउनुभयो ।

गत कात्तिक २४ गते घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको चितुवाले ज्यान लिएको थियो । किशोरीलाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयले मिलेर मारेका थिए । चितुवा मार्ने क्रममा ४ जना घाइते भएका थिए ।

तल्लो स्वाराड क्षेत्रमा वर्षेनी चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको छ । २०६८ सालयता २७ जनाको चितुवाकै आक्रमणबाट ज्यान गएको छ ।