भ्रष्टाचारीलाई खोई डर ?



नेपालमा उच्च ओहदामा आसीन राजनीतिज्ञ हुन् वा कर्मचारी, खोतल्ने हो भने भ्रष्टाचार नगर्ने व्यक्तित्व पाउन कठिन पर्छ । तर तल्लो तहका व्यक्तिहरु एकाध समातिए पनि माथिल्लो तहका भ्रष्टाचारी प्रायः उम्किने गरेका छन् । भ्रष्टाचारमा शून्य सहनशीलता जरुरी विषय हो । सुशासनयुक्त सभ्य समाज निर्माणका लागि सार्वजनिक पद र निकायमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने जरुरत छ ।

यद्यपि, यसमा पनि भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका र गर्नुपर्ने सार्वजनिक पदमा आसीन व्यक्तिहरुको गलत नियतले खराब पात्र र प्रवृत्तिले बढावा पाइरहेको छ । अख्तियारले फर्जी उजुरीका नाममा कसैलाई पनि फगत दुःख दिएर बदनामी गर्नुहुन्न । अख्तियारले सूक्ष्म हिसाबले अध्ययन, अनुसन्धानको पाटो अघि बढाउनुपर्छ । दोषी नउम्कोस्, निर्दोष नफसोस् भन्ने सिद्धान्तबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग विचलित हुनुहुँदैन ।

साँच्चै भ्रष्टाचार नियन्त्रण गर्ने हो भने अख्तियारप्रति भ्रष्टाचारीहरु भयग्रस्त हुने अवस्था सिर्जना हुनुपर्छ । तब मात्र हामी बिस्तारै भ्रष्टाचारमा शून्य सहनशीलताको दिशामा अघि बढ्न सक्छौं । तर यहाँ भ्रष्टाचार गर्नेहरु निडर देखिन्छन् । उनीहरु समाजमा झनै बलिया भएका छन् । किनकि उनीहरुलाई कतैबाट संरक्षण हुने गरेको छ ।

– नितेश बुर्लाकोटी, भरतपुर चितवन ।

बीपीबारे दुई शब्द

दिवंगत बीपी कोइरालाले राष्ट्रियताबारे थोरै बोलेका छन् र लेखेका छन् । तर उनी स्वयं नै राष्ट्रियताको भावले ओतप्रोत थिए, जसका लागि उनले जीवनलाई दाउमा लगाए, जीवनकै खतरा मोले । तर उनी अतिराष्ट्रवाद, अन्धराष्ट्रवाद र संकीर्ण राष्ट्रवादको खिलाफमा थिए । उनले नेपाललगायत अन्य देशका शासक या नेताले जस्तो राष्ट्रियताको नारा दिएर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न खोजेनन् । उनले पराधीनताभन्दा सम्भावित मृत्यु रोजे, जेलजीवन रोजे ।

उनले भनेका छन्– राष्ट्र र राष्ट्रियता भनेको फगत माटो होइन, त्यो भौगोलिक क्षेत्रभित्र बस्ने जनता नै मुख्यरूपमा राष्ट्र हो । उनले भनेका छन्– जनता बलिया र समृद्ध भए मात्र राष्ट्रियता बलियो हुन्छ । त्यसैले होला उनी स्वयं रोगले थलिएर विदेशी अस्पतालमा भर्ना भएका बखत लोकतन्त्र ल्याउने बुटी खोज्न भन्दा पनि जनतालाई कसरी निरोगी र स्वस्थ बनाउन सकिन्छ भनेर उपाय सोध्थे ।

बीपी कोइरा लोकतन्त्रवादी थिएनन् । लोकतन्त्र र सत्ता प्राप्तिलाई साधन मात्रै ठानेका थिएनन् । त्यसैले उनले सुकिला र मुकिलाको कुरा उठाएका थिए, जसलाई अहिले पनि आफू सत्तामा नभएका बखत मात्रै कांग्रेसीजनले उठाउने गरेका छन् । बीपीको परिभाषामा महलमा बस्ने होइन, झुपडीमा बस्नेहरू सहजरूपमा बाँच्नु र हाँस्नु नै समाजवाद थियो । अहिले बीपीलाई नबुझी उनका हरेक कुरालाई गलत तरिकाले ब्याख्या गर्ने गरेको पाइन्छ । यसो हुन नदिन बीपीका बारेमा सबैलाई बुझाउन जरुरी छ ।

– नेपालय थापा, काभ्रे ।

महिलामाथि हुने विभेदबारे बोलौँ

महिलामाथि अहिले पनि समाजमा विभिन्न बहानामा विभेद गरिँदै आएको छ  । महिलामाथि हुने सबै किसिमका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिले पनि महिलामाथि विभेद हुनुहुँदैन भन्छ तर हाम्रो समाजमा महिलालाई हेरिने दृष्टिकोणसँगै सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा विभेद हुँदै आएको छ  । महिलाहरुमाथि विभेद हुनुहुँदैन भनेर धेरै कुराहरु उठ्ने गरे पनि हिंसा घट्न सकेको छैन  ।

त्यसै गरी घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ ले पनि अर्को कुनै व्यक्तिलाई शारीरिक, मानसिक, यौनजन्य, आर्थिक यातना र भावनात्मक चोट पु¥याउने कुनै कार्य गर्न नहुने भने पनि समाजमा अहिले पनि हुने गरेको पाइन्छ । महिलाहरुले हिंसामा परेपछि न्यायका लागि पहल गर्ने गरे पनि अधिकांश महिलाहरुले खासै पहल गरेको पाइन्न ।

महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बनेको कानुन कडाइका साथ पालना नहुँदा अहिले पनि महिलाहरु घरदेखि सडकसम्म हिंसामा पर्ने गरेका छन् । दोषीलाई कारबाही नहँुदा महिलाहरुमाथि अंगभंग हुने गरी कुटपिट गर्ने, जिउँदै जलाउने, घरमै पनि विभेदपूर्ण व्यवहार गर्ने, यौन शोषण गर्ने र घरबाट बाहिर निकाल्ने लगायतका घटनाहरु हुने गरेका छन् ।

राजनीतिकरुपमा पहुँचमा रहेकाहरुले न्याय पाउने गरे पनि अधिकांश महिलाहरुले न्याय पाउन सकेका छैनन् । त्यसैले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि सरकारी कार्यालय, गैरसरकारी कार्यालय, विभिन्न संघसंस्था, पत्रकार, बुद्धिजीवी, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनु जरुरी छ  ।

– पूर्णमान शेर्पा, हुम्ला ।

चिसोबाट जोगिन यी कुरामा ध्यान दिनुहोस्

नेपालमा चिसो याम छ । चिसोका कारण जनजीवन प्रवाभित हुन थालेको छ । यस्तो चिसोमा हामीले हाम्रो स्वास्थ्यमा ध्यान दिन जरुरी छ । कोरोना महामारीको जोखिम र कोरोनासँग मिल्दाजुल्दा लक्षणहरु देखिने सामान्य प्रकारका रोगहरुको याम पनि भएकाले आमसर्वसाधारण आत्तिने सम्भावना हुन्छ । कोरोना महामारीबाट जोगिन र चिसोबाट हुनसक्ने असहजतालाई पनि न्यूनीकरण गर्न हामी जागरुक भएर लाग्नुपर्ने देखिन्छ । यस्तोमा बिहान मात्रै होइन, दिनभरि तातो पानी सेवन गर्नुपर्दछ ।

तातो तथा झोलिलो सुप खानुहोस् । बदामले पनि शरीरलाई न्यानो प्रदान गर्दछ । तातो सुपले पानीको आवश्यकता पूरा गर्छ भने ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ । तातो पानीमा मह मिसाएर खाने हो भने शरीरमा ताप प्रदान गर्दछ ।

यस्तै स्वस्थकर खानेकुरामा जोड दिनु राम्रो हुन्छ । । शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा आवश्यक पर्छ । प्रशस्त मात्रामा निदाउनुपर्दछ । घरबाट निस्किएसँगै मास्कको प्रयोग गर्नुहोस् । यसले भाइरस संक्रमणबाट बचाउन मद्दत गर्दछ । व्यायाममा जोड दिनुहोस् । निरन्तरको व्यायामले शरीर फूर्तिलो हुन्छ ।

जाडो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई अत्यधिकरूपमा रुघा, खोकी, दम, निमोनिया, डाइरियाजस्ता रोगव्याधि लाग्ने गरेको छ । चिसोमा बालबालिकालाई बचाउन गाउँघर होस् वा शहरमा, अभिभावकहरूले अनेक उपाय अपनाउने गरेका छन् । बालरोग विषेशज्ञ चिकित्सकहरूको भनाइ र मान्यतालाई आधार बनाउने हो भने चिसो मौसममा सबैभन्दा बढी संक्रमित कुपोषणग्रस्त बालबालिका नै हुने गरेका छन् । त्यसैले हामी आफैं सजग र सचेत बनेर चिसोबाट बच्न सक्छौँ ।

– निमेष उप्रेती, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्