नेकपा डडेल्धुराद्वारा प्रधानमन्त्री ओलीले चालेको कदमको भ्रत्र्सना

0
Shares

राम धामी, डडेल्धुरा ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुरा जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधी सभा विघटन गरेको भन्दै सो कदमको भ्रत्सना गरेको छ । सोमबार नेकपा डडेल्धुराको कार्यालयमा सम्पन्न भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको भ्रत्सनागर्दै जिल्लाका सातओटै स्थानीय तहमा जनवर्गीय संगठन तथा सिँगो पार्टी पंक्तिलाई पार्टी एकताका कामहरु अघि बढाउने निर्णय गरेको हो ।

डडेल्धुरा जिल्ला कमिटीमा केपी पक्षधर नेताहरु अत्यान्तै न्युन रहेकाले सिँगो जिल्ला कमिटी माधव नेपाल र पुष्पकमल दाहालको पक्षमा रहेको नेताहरु बताउछन । २०५६ सालमा तत्कालिन नेकपा (एमाले) फुटेपछि जिल्ला कमिटीका बहुमत सदस्यहरु नेकपा (माले) मा आवद्ध भएका थिए ।

त्यसबेला जिल्ला कमिटिले बहुमतका साथ नेकपा (माले) को पक्षमा लाग्ने निर्णय गरेको थियो । तत्कालिन एमालेले जिल्ला कमिटीमा बहुमत गुमाएपछि पठानसिँह बोहराको नेतृत्वमा एमाले पुर्नगठन भएको हो । केपी ओली पक्षधर नेता कार्यकर्ताहरुले पुनः जिल्ला कमिटी पुर्नगठन गर्ने अवस्था सिर्जना भएको नेताहरु बताउछन् ।

नेकपा डडेल्धुराका अध्यक्ष मानसिँह मालले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकाले मुलुकमा लोकतान्त्रिक गणतन्त्र धरापमा परेको हुँदा डडेल्धुरा जिल्ला पार्टी सो कदमको बिरुद्धमा उभिएको बताए ।

नेकपा डडेल्धुराको सात सदस्यीय कार्यालय टिमका सबै प्रचण्ड नेपाल समुहमा खुलेर देखिएका छन भने एक सय ३५ सदस्यीय जिल्ला कमिटिका अधिकांस सदस्यहरु प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा रहेको नेकपा डडेल्धुराले जनाएको छ । ‘जिल्ला कमिटीका ९० प्रतिसत भन्दा बढि सदस्यहरुले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको खुलेरै भ्रत्सना गरेका छन्,’ जिल्ला कमिटीका एक सदस्यले भने,‘तत्कालिन माओवादी र तत्कालिन एमालेबाट प्रतिनिधित्व गरेका सबै जिल्लास्तरीय नेताहरु प्रधानमन्त्री ओलीले चालेको कदमको बिरुद्धमा देखिएका छन् ।’

पार्टी एकता भएको एकबर्षपछि डडेल्धुरामा पार्टी पुर्नगठन गरिदाँ पूर्व माओवादी केन्द्रले अध्यक्षसहित ६७ जिल्ला कमिटी सदस्य पाएको थियो भने पूर्व एमालेले सचिवसहित ६८ जिल्ला कमिटी सदस्य पाएको हो । एमालेका तत्कालिन अध्यक्ष डा. तारा जोशीसहित जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने अधिकांस सदस्यहरु पनि प्रचण्ड–माधव समुहमा देखिएका छन भने पुर्व माओवादीका पदमराज जोशी ‘विप्लव’ वाहेक अधिकांस सदस्यहरु प्रधानमन्त्री ओलीको कदमको बिरुद्धमा उभिएका छन् ।

जिल्लास्तरीय नेताहरु पुर्व जिविस सभापति गजेन्द्र शाही, पुर्व सचिव यज्ञराज अवस्थी, प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिँह बोहरा, राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेही लगायतका नेताहरु भने प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेको पाइएको छ ।

जिल्ला कमिटीका बहुमत सदस्यहरु प्रचण्ड–नेपाल समुहमा देखिएकाले ओली पक्षधरहरुले डडेल्धुरा जिल्ला कमिटी पुर्नगठन गर्ने बाध्यता देखिएको नेताहरु बताउछन् ।