खुकुलो बन्दै झुलाघाट नाका

0
Shares

बैतडी, (नेस) । 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवत–जावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाका आवत–जावतमा खुकुलो बनाइएको हो ।

आकस्मिक कामका लागि आवत–जावत गर्नुपरेमा सहज रूपमा गर्न दिइएको बैतडीका सहायक प्रमुुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढस्थित उपजिल्ला अधिकारीको कार्यालयबीचको सहमतिमा आवत–जावत गर्न खुकुलो बनाइएको उहाँको भनाइ छ । आकस्मिक काम परेका व्यक्ति, विरामी, भारतीय कर्मचारी, भारतीय सेनाका जागिरेहरुलाई आवत–जावत गर्न दिइएको बताउँदै सहायक प्रमुुख जिल्ला अधिकारी नेगीले भन्नुभयो ।

नेपालको तर्फबाट मजदुरलाई जान दिइएको भए पनि भारतले मजदुरीका लागि जाने नेपाली कामदारलाई जान नदिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । उत्तराखण्ड प्रदेशमा अझै कोरोनाको जोखिम कायम रहेकाले भारतले उक्त प्रदेशका नाकामा कडाइ गरेको जनाइएको छ ।

मजदुरीका लागि भारत जानेहरुलाई हाललाई सुदूरपश्चिमको गड्डाचौकी र त्रिनगर नाकाबाट जान दिइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै गत चैतदेखि नेपालले अन्तर्राष्ट्रिय नाका बन्द रहेको थियो ।