देश विकास नहुनुमा जनता पनि दोषी



नेपाल विकास नहुनुको कारण भनेकै जनता हुन् या नेता, यसबारे अझै अन्यौलमा छु । नेपालमा साक्षरताको दर पनि वास्तवमा उच्च नै देखिन्छ । अनेक खालमा सम्पदा र कला संस्कृतिहरुको अथाह सम्भावना बोकेको भूस्वर्ग नेपाल सधैँ गरिबीको चपेटामा पर्नुका कारणहरु गहिरिएर हेर्दा जनता नै र नेता नै हुन् । न कुनै पेसा व्यवसाय, न कुनै काम, मात्र राजनीति गरेर नेता कसरी अर्बपति बन्न सक्छन् ? जनता उनैलाई भोट दिएर बारबार विजयी गराउँदै चाकडीमा व्यस्त छन् । उनीहरुले जनताप्रति उत्तरदायी भएर काम नगर्नुको मुख्य कारण पनि जनता नै हुन् ।

सानोभन्दा सानो काममा राजनीतिक पावर चलाउन खोज्ने र आफू नियम पालना नगर्ने अनि अरुलाई नै यो सबैको दोष दिँदै आफू पानीमाथिको ओभानो बन्न खोज्ने जनता नै खासमा दोषी हुन् । सरकारलाई सत्तोसराप गर्ने र आफ्ना दायित्वहरुबाट वञ्चित भैदिने जनता वास्तवमै दोषी नभनेर के भन्न सकिन्छ । समाज परिवर्तनशील छ, हुनु पनि पर्दछ ।

यद्यपि नेपाली समाज परिवर्तन चाहे पनि आफैंमा दिग्भ्रमित हुने गरेको छ । पछिल्लो समय भाइरल युट्युब र सामाजिक सञ्जालको बहकाउमा पर्न थालेको समाजमा अनेक विकृति देखिन थालेका छन् । सामान्य घर झगडाका घटनामा सक्रियतापूर्वक बहसमा उत्रिने आममानिस देशमा ठूला–ठूला भ्रष्टाचारका काण्डहरु सार्वजनिक हुँदा पनि चुपचाप बस्ने गरेको देख्दा अचम्म लाग्छ ।

पछिल्लो समय कोरोना महामारी नियन्त्रणमा पनि यस्तै प्रकारको लापरबाही देखिएको छ । कोरोना संक्रमण फैलिन सक्ने ठाउँहरुमा भीडभाड गरेर संक्रमणको स्तर तीव्र पार्न मद्दत पुगिरहेको छ । यसरी जनता आफैं सचेत र आफूप्रति जवाफदेही बन्ने हो भने देश चाँडै नै विकासको गतितिर अघि बढ्थ्यो कि ?

– समीक्षा थापा, नैकाप ।

शिक्षामा व्यावहारिकताको खाँचो

हामी अध्ययन गर्छौं, पढ्छौं । अनि भनिन्छ, मानिस चेतनशील प्राणी हो । बौद्धिक प्राणी हो । तर, अहिले अध्ययनको अर्थ कोरा ज्ञानमा सीमित छ । व्यावहारिक शिक्षाको हाहाकार छ । पढेर मात्रै केही अर्थ राख्दैन । पढेको कुरालाई जीवनोपयोगी गराउन सकियो भने मात्रै त्यसको दिगो अर्थ रहन सक्छ । समयानुकूल, गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकता हो । यी मध्ये कुनै पनि शिक्षा नेपालमा पूर्णतः लागू हुन सकेको छैन । लागू हुन्थ्यो भने किन बेरोजगारी बस्नुपर्ने बाध्यताको सृजना हुन्थ्यो होला र ? विवेकशील जनशक्ति उत्पादन गर्न शिक्षा अपरिहार्य छ । सबै पक्षको समानान्तर विकासको प्रमुख आधार भनेको शिक्षा हो

त्यसकारण जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यता र महत्व दिनानुदिन बढ्दै पनि गएको छ । शिक्षित जनशक्ति उत्पादन आजको आवश्यकता हो । व्यक्तिले आर्जन गरेको ज्ञानको उपयोग गरेर पेट पाल्न सक्ने स्थिति बनाउने व्यावहारिक शिक्षाको ध्येय हुन्छ । कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प छैन । आजको शिक्षा जुन मात्रामा व्यावहारिकरूपमा हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन । व्यावहारिक शिक्षाको लागि सर्वप्रथम सरकारी नीति आवश्यक छ । जुन नीति कडाइका साथ लागू होस् ।

शिक्षाविनाको मानव त कल्पना पनि गर्न सकिँदैन । सबैको एउटै लक्ष्य ज्ञान लिने, सिक्ने, बुझ्ने र भविष्यमा आफ्नो ज्ञानको प्रयोग गरी समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्ने नै हो । दिनानुदिन हाम्रो शिक्षा व्यावहारिक भन्दा सैद्धान्तिक बढी भएको छ । यद्यपि शिक्षाको सैद्धान्तिक पद्धतिलाई परिमार्जन गर्न अति आवश्यक छ । तसर्थ पढेका कुराहरूलाई व्यवहारमा उतार्ने र समय अनुकूल रोजगारमूलक शिक्षा हुने हो भने पक्कै पनि शिक्षाको उपलब्धि अर्थपूर्ण मानिन्छ । त्यसका लागि सरकारले शिक्षा नीति फराकिलो बनाउनुपर्छ, योजनासहित ।

– राजन लामा, हेटौंडा

अनलाइन मिडियाको हाउगुजी नियन्त्रण जरुरी

छ्यापछ्याप्ती खुलेका अनलाइनलाई सरकारले तह लगाउन जरुरी छ । मनलाग्दीरुपमा कपी पेस्ट गरेर समाचार छाप्दा हामी अन्यौलमा परेका छौं । नयाँ अपडेट दिने नाउँमा कोठामा बसेर मनलाग्दीरुपमा समाचार प्रकाशन हुँदा हामीले राम्रो रुपमा सत्यतथ्य समाचार दिने अनलाइनलाई समेत शंका गर्नुपर्ने अवस्था आएको छ । मिडियाले जनतालाई सूचनासँगै सत्यतथ्य समाचार दिन जरुरी छ । प्रतिस्पर्धाको होडबाजीमा यसो गर्दा हामीलाई आमसञ्चारमाध्यममाथिको विश्वसनीयतामा शंका उठ्ने भएकाले यसरी पोस्ट नगरिदिनुहुन म अनुरोध गर्छु ।
यस विषयमा सरकारले छिट्टै कानुनीरुपमै त्यस्ता मिडियालाई तह लगाउन जरुरी देखेको छु । बरु ढिला दिने तर सत्यतथ्य सूचना दिने गरेमा हामी हाम्रो सत्य सूचनाको हकबाट वञ्चित हुने थिएनौं ।

यो विषयमा गम्भीर हुन म सरकारलाई आग्रह गर्दछु । पार्टी निकट व्यक्तिहरुले खोलेका अनलाइनले पनि मनलाग्दी लेखेको देखिएको छ । यो विषयमा प्रेस काउन्सिलले समेत ध्यान दिन जरुरी छ । सूचना विभागले पनि निरन्तररुपमा यो विषयमा आवाज उठाएर कुनै टुंगो लगाइहाल्नुपर्ने अवस्था छ । यो निकै गम्भीर कुरो भएकाले सबैको ध्यान जाओस् भन्न चाहन्छु ।

– सुदीप आचार्य, दाङ ।

जनप्रतिनिधिज्यू, आफ्नो काममा ध्यान देऊ

स्थानीय निर्वाचनमा जनताको प्रतिनिधि बनेर आएका प्रतिनिधिसँग हाम्रो ठूलो अपेक्षा छ । हामीले हाम्रो ठाउँको उचित ढंगले विकास गर्न तपाईंहरुलाई भोट दिएर जिताएका छौं । तपाईंहरु विलासिता र सामन्तीको पारा देखाएर नआउनुहुन हामी अनुरोध गर्दछौं । तपाईंहरु स्थानीय निर्वाचनमा भोट माग्न आउँदा जुन किसिमले काम गर्ने आश्वासन दिनुभएको थियो त्यही अनुसार काम गरेमा हामी तपाईंहरुलाई फेरि जिताउनेछौं । नत्र तपाईंलाई सडकमा ल्याउने तागत राखेका हामीले अर्को निर्वाचन कुरेर बस्नेछौं । अनि तपाईंलाई त्यहीँबाट पछार्नेछौं ।
त्यसकारण भावी दिन सम्झेर पनि जनताका लागि काम गरिदिनुहोला भन्न चाहन्छु । स्थानीय निकायमा जनप्रतिनिधि भएपछि जनताको काममा ध्यान दिन पनि म आग्रह गर्दछु । अवसरवादीको कुरामा लाग्नुहुँदैन, जनपक्षीय काम गर्न पनि म आग्रह गर्दछु ।

– सफल शर्मा, नेपालगन्ज ।

प्रतिक्रिया दिनुहोस्