अनौठो समाज, पहलमान नेता र धुर्त हनुमान



प्रायः व्यक्ति चलाख र केही स्वार्थी हुन्छन् । यस्तो हुनु पनि पर्छ बाँच्नका लागि । तर मानिस यति स्वार्थी हुनुहुँदैन, जुन स्वार्थीपनाले गर्दा अरु व्यक्ति तथा मुलुकलाई हानि होस् । आज हाम्रो मुलुकमा पनि हुनुभन्दा बढी स्वार्थीपना देखिएको छ, जसले गर्दा मुलुक अघि बढ्न सकेन । यो सबैले अनुभव गरेकै कुरा हो ।

हुन त आफ्नो ठाउँमा यहाँ पनि प्रायः व्यक्तिहरु आ–आफ्नै हिसाबले स्वार्थी छन् । तीमध्ये पनि जिन्दगीमा मेहनत नगर्ने, खाली चाकडी मात्र गरेर कुर्सी, सम्पत्ति तथा व्यक्तित्व हासिल गरी अघि बढ्न चाहने, यस्ता व्यक्तिलाई हामीले हनुमानको दर्जा पनि दिन सक्छौं । यस्ता व्यक्तिले गर्दा नै हाम्रो मुलुक अगाडि बढ्नबाट रोकिराखेको छ । हाम्रो देशमा यस्ता व्यक्तिहरुको जमात पनि ठूलो छ । त्यसकारण जबसम्म यस्ता व्यक्तिको मानसिकता बदलिँदैन अथवा समाजले यस्ता व्यक्तिलाई बदल्न सक्दैन, तबसम्म केही हुनेवाला छैन ।

यो देशमा सरकारले जनतासँग कर उठाएबापत शहरी विकास तथा पूर्वाधार विकासमा ध्यान पुर्‍याउनुपर्ने हो । जसअनुसार सरकारले रकम खर्चेको पनि देखिन्छ तर नपुग छ । मानिस छनोटमा राजनीति, ढिलासुस्ती, कमिसनको खेल, गुणस्तर आदि कुरामा सरकारले कहिल्यै कडा भएर ध्यान पु¥याउन सकेन । त्यसैले यही सरकारको कमजोरीले गर्दा देश पछि परेको मान्न सकिन्छ । वास्तवमा भन्ने हो भने, देशमा जति पनि विकास भइराखेको छ, त्यो विदेशी दाता, उद्योग व्यवसायी आदिमार्फत भइराखेको मान्न सकिन्छ । अरु बाँकी ठूला–ठूला विकासहरु जस्तै– बिजुली, पानी, राजमार्ग, फोहोर, कम्पोस्ट मल आदि जति विकास हुनुपर्ने हो त्यो पनि सुस्त देखिन्छ । सरकारलाई मात्र कति दोष दिनु ? यो मुलुकमा हाम्रो समय न आएको हो वा समाज नै अनौठो र अप्ठ्यारो भएर हो, देश विकास भएजस्तो देखिए पनि सधैँ बिरामी भएको जस्तो देखिन्छ । त्यसमाथि कहिले भुइँचालो, कहिले बाढी, कहिले रोगको महामारी आदि कारणले गर्दा पनि यो मुलुक अघि बढ्न सकेन ।

अहिले देशमा बलियो सरकार छ । त्यसमाथि जनताको कुरा नसुन्ने पहलमानजस्ता नेताहरु धेरै छन् ।यिनीहरु प्रायः देशका योजनाहरु गोप्य राख्ने गर्दछन् । सत्तामा को जाने, को आउने, कुर्सीको फेरबदल, नक्कली हौसलाजस्ता कुरामा सरकारका दिनहरु बितिराखेका छन् ।

वास्तवमा भन्ने हो भने, हाम्रो मुलुकमा हरेक किसिमका विज्ञ तथा बुद्धिजीवीहरु छन् । तीमध्ये पनि यहाँ धेरै दिग्गज व्यक्तिहरु छन्, जसलाई कृषि तथा उद्योग व्यवसायको बारेमा ज्ञान र अनुभव छ । तैपनि हाम्रो देशमा कृषि र उद्योग विकास तीव्ररुपमा जान सकिराखेको छैन । जबकि रकम, वातावरण, सीप, म्यानपावर आदि सबै यहाँ नै उपलब्ध छ ।

मुलुक द्रुत विकासमा जान नसक्नुको कारण जुन सरकारहरु आए पनि राजनीतिक कलह, भिजनको कमी, मन र सोच ठूलो नहुनु, विज्ञसँग सल्लाह गरेर हरेक क्षेत्रमा राम्रो नीति तर्जुमा गर्न नसक्नु नै हो । त्यसकारण अब यस्तो हुन भएन । सरकार परिवर्तन हुनुपर्दछ । यस्तो अवस्थामा सरकार सधैँ कृषि विज्ञ र उद्योग व्यवसायीहरुको राय सुझावलाई लिएर समन्वय गरी अघि बढ्नु जरुरी छ । अनि मात्र मुलुकको द्रुत विकास पक्का छ ।

यसबाहेक हाम्रो मुलुकमा अझै पनि मानिसहरु अनभिज्ञ र स्वार्थी छन् । यसको खास कारण शिक्षित बुद्धिजीवीहरु भए तापनि यो भन्दा धेरै अशिक्षितहरुको जमात ठूलो छ । नेताहरुको कुरा गर्ने हो भने अनावश्यक शक्तिशाली छन् । हाम्रो देशमा धुर्त हनुमानहरुको संख्या पनि व्यापक छ । यी सब कुराहरु देशका लागि हानिकारक तत्व हुन् । त्यसकारण यिनीहरुको मानसिकता परिवर्तन गर्नु नै आजको आवश्यकता हो । जब देशका युवाहरु पैसा कमाउन विदेश जाँदैनन्, रोजगारको वातावरण बन्दै जान्छ, तब हामी भन्न सक्छौं कि अब भने देशमा विकास भएको छ । यसको लागि साँच्चै नै देश चलाउनेहरु र कृषि तथा उद्योग विज्ञहरु तात्तिनु जरुरी छ ।

– रमेशकेशरी वैद्य, काठमाडौं ।

सम्बन्धहरुको घनचक्करमा अल्झिएको ‘रूखहरूको मृत्यु’

समसामयिक साहित्यको क्षेत्रमा एक नवीनतम कृति ‘रूखहरूको मृत्यु’ बजारमा आएको छ । जहाँ विभिन्न तरिकाबाट समाजका हरेक क्षेत्रका मानिसहरूको संघर्ष उतारिएको छ । पुस्तक ‘रूखहरूको मृत्यु’ जसका लेखक हुन् प्रशान्त शर्मा । उनको जन्म भैरहवा, रुपन्देहीमा भएको हो । लेखक शर्मा पत्रकारितामा स्नातक तहमा अध्ययनरत छन् । उनको पहिलो कृति हो ‘रूखहरूको मृत्यु’ । किताबभित्रका केही आफ्ना विचारहरू राख्दा शर्मा यसरी प्रस्तुत गर्छन्, ‘यो मेरो पहिलो कृति हो रूखहरूको मृत्यु । जसमा एउटा सामान्य व्यक्ति, जो जीवनका अनेकौं आयाममा बाँचिरहेको हुन्छ, उसको कथा–व्यथा हो ।’

‘एक मानिसलाई समय र नियतीले कसरी डोर्‍याउँछ भन्ने कुरालाई यसमा प्रस्तुत गरिएको छ । ‘उपन्यासमा एक पात्रको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छु,’ शर्मा बताउँछन्, ‘एक मानिसको जीवनमा प्रेम, परिवार, पेसा र अन्य यावत तत्वहरुले के–कस्ता प्रभाव पार्छन् र त्यसको असर कस्तो किसिमको हुन्छ भन्ने कुरा पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।’

एक व्यक्तिले गर्ने सामान्य प्रेमसँगै सम्बन्धहरुको घनचक्करमा अल्झिएको उसको जीवनको एउटा कालखण्ड समग्रमा प्रेमको वरिपरि घुमेर लेखिएको एउटा पेसावरको कथा हो । एउटा पत्रकारको कथा, एउटा जागिरेको कथा, त्यो समयको कठपुतलीको कथा र सबैभन्दा माथि प्रेमले लतपतिएको एक व्यक्तिको जीवनको कथा हो ।

युवा साहित्यकार शर्माको कृति ‘रूखहरूको मृत्यु’ ठूलो प्रतीक्षापश्चात् बजारमा आएको छ । पुस्तक दशैैँअघि नै बजारमा ल्याउने प्रकाशकको दाबी थियो तर कोरोना महामारीको कारणले तिहारपछि अर्थात् गत मंसिर २५ देखि मात्र बजारमा आएको हो । लेखक भन्छन्, ‘असोजमा प्रकाशन गर्ने तयारी भए तापनि त्यो बेला सकिएन । केहि ढिला भएर अहिले पुस्तक सार्वजनिकरुपमा बजारमा आएको छ ।’

भीडभाड गर्न सक्ने अवस्था नभएकाले पुस्तकलाई औपचारिकरुपमा विमोचन गर्न नसकिएको लेखक शर्माले बताए । उनका अनुसार कोरोना संक्रमणको जोखिम कम भई नसकेकाले अहिले तामझामका साथ पुस्तक विमोचन गर्न सकिएन ।

पुस्तकको कभर डिजाइन किशोर ज्योतिले गरेका हुन् । यस पुस्तकको प्रकाशक एडीबी पब्लिकेसन, डिल्लिबजार, काठमाडौं हो भने प्रमुख वितरक बुलबुल पब्लिकेसन्स रहेको छ । पुस्तकमा २६६ पृष्ठ रहेको छ र मूल्य ३५० रहेको छ । पुस्तक पाठकको सुविधाका लागि होम डेलिभरी र अनलाइनमार्फत मगाउन सकिनेछ । बजारमा पनि पुगिसकेको पब्लिकेसनको दाबी छ ।
– सुजन तिमल्सिना, ज्ञानेश्वर ।

प्रतिक्रिया दिनुहोस्