शेयर धितो कर्जामा कडाइ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ निर्देशिका जारी गर्दै कडाइ गरेको हो ।

राष्ट्र बैंकले पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेको संस्था, व्यावसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएको संस्था, विगत तीन वर्षदेखि साधारण सभा नगरेको संस्था र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाको शेयर धितो राखेर कर्जा लिन नपाइने व्यवस्था गरेको छ । त्यस्तै नयाँ निर्देशिका अनुसार समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्था, नेटवर्थ ऋणात्मक भएका संस्था, नेप्सेको सूचीकरणबाट हटाइएका संस्था तथा आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाको शेयर धितोमा कर्जा दिन नमिल्ने व्यवस्था भएको छ ।

बुधबार जारी भएको निर्देशकामा नेप्सेमा सूचीकृत कम्पनीको शेयर धितोमा कर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाको कर्जा नीति निर्देशिकामा व्यवस्था रहेअनुसार पूरा गर्नुपर्नेछ । ऋण दिने संस्थाले कुन कम्पनीको शेयरमा ऋण दिएको हो त्यसको मूल्य आम्दानी अनुपात, बुक भ्यालु, लाभांश इल्ड, लाभांश भुक्तानी अनुपातजस्ता आधारभूत सूचकांकको विश्लेषणसम्बन्धी व्यवस्था गर्नुपर्नेछ ।

यसैबीच राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्टमा पनि कडाइ गरेको छ। बढीमा ५० लाख रुपियाँसम्म दिन पाइने यस्तो ऋण दोहोरिन नदिने भएको छ । अब ऋणीले अर्को संस्थाबाट ओभरड्राफ्ट लिएको छ÷छैन यकिन गरेर ५० लाखको सीमा ननाघ्ने गरी मात्र दिन पाउनेछन् ।