पर्वत कारागारमा थुनामा रहेका विप्लव समुहका नेताको मृत्यु

0
Shares

न्युज अफ नेपाल , पर्वत ।

पर्वत कारागारमा थुनामा रहेको अवस्थामा बेहोस भएका नेत्रबिक्रम चन्द(बिप्लब) समुह म्याग्दीका नेता जगेन्द्र पुन(जगत)को मृत्यु भएको छ ।

अभद्र ब्यबहार सम्बन्धी मुद्दामा पर्वत जिल्ला कारगारमा तमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण बेहोस भई ढलेका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ बर्षिय पुनको सोमबार पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएका पुनलाई अस्पतालले सोमबार अपराहन्न मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । मंसिर २४ गते दिउँसो १२ बजे पर्वत कारागारमा बेहोस भएका पुनलाई पोखरा लगेर भेन्टिलेटरमा राखिएको थियो ।

पुनका आफन्तहरुले भने प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबार्हीका कारण मृत्यु भएको बताउँदै शब बुझ्न अस्विकार गरेका छन् । पुनका छोरा हिमालले राजनीतिक आस्थाका आधारमा उपचारमा हेलचेक्राई भएको र बिरामी भएपछि परिवारलाई समयमै खबर नगरेको दुखेसो पोख्नुभयो । उहाँले बुवाको मृत्युको बिषयमा स्वतन्त्र छानबिन नगरे सम्म शव नबुझ्ने र दवाबका लागि मानवअधिकारबादी संघ संस्थालाई अपिल गर्नुभएको छ । उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै मानब अधिकार आयोगमा समेत निवेदन दिनुभएको छ ।

‘मृत्युको कारण रोग मात्र नभई अरु पनि हुन सक्छ । उहाँलाई पटक–पटक पक्राउ गर्दै धरौटी मागेर हैरान बनाइयो । हामीलाई समेत मानसिक रुपमा टर्चर भएको छ’ पुनले भन्नुभयो ‘हिरासतमा भएकोको स्वास्थ्य उपचार र जिउधनको सुरक्षा गर्न नसक्नुमा सरकारको गम्भिर लापरबाही हो ।’

माओवादी जनयुद्धमा भूमिगत हुनुभएका पुन बिप्लप नेतृत्वको नेकपाको तत्कालीन जिल्ला जनसरकार प्रमुख हुनुहुन्थ्यो । उहाँलाई २०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो । त्यसै गौहत्या सम्बन्धी अर्को मुद्दा लगाइएका पुनलाई अदालतले ५४ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । गौहत्या मुद्दामा छुटेलगत्तै दोस्रो पटक गिरफ्तार भएका पुनलाई जिल्ला प्रशासन कार्यालयले अभद्र ब्यवहार मुद्दामा मागेको एक लाख १८ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि म्याग्दी कारागार चलान गरिएको थियो ।जग्गा रोक्का राखेर धरौटी बुझाएपछि रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका पुनलाई अभद्र ब्यवहार सम्बन्धी मुद्दामा पर्वत स्थानान्तरण गरिएको थियो । गत कात्तिक तेस्रो हप्ता पर्वत लगिएका पुनलाई पर्वत जिल्ला अदालतले मागेको ५० हजार रुपैयाँ धरौटि तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।