‘सरकार बदनामको भट्टी पसलजस्तै गनायो’

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार बदनामको भट्टी पसलजस्तै गनाएको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरले सोमबार सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उपसभापति निधिले कांगे्रस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दा समेत सभापति देउवाकै बदनाम हुन खोज्नुले यसको पुष्टि गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जसरी राम्रै मान्छे पनि भट्टी पसलमा गएर फर्कंदा शंका आशंकाको दृष्टिले हेरिन्छ, त्यसै गरी सरकार प्रमुखलाई समेत कसैले भेट्दा यस्तै अवस्था आउनु दुर्भाग्य हो । यसबाट पनि पुष्टि हुन्छ कि सरकार देश र जनताको नजरमा कति बदनाम भइसकेको छ ।’

सरकारलाई कोरोना २०७७ को उपमा दिँदै निधिले मानव स्वास्थ्यमा कोरोेना घातक भएजस्तै राजनीतिक संस्कार, संविधान, देश र जनताका लागि वर्तमान सरकार पनि कोरोनाजस्तै घातक रहेको बताउनुभयो । प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक रहेको बताउँदै उहाँले सरकारको अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि कांगे्रस सडकमा आउन बाध्य भएको बताउनुभयो ।

सरकारप्रति निराशा बढाउने काम प्रम ओलीले नै गरेको बताउँदै कांग्रेस पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभयो । उहाँले पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाउनुभयो ।

उपसभापति निधिले कोरोनाको महामारीको समयमा सडकमा आउनु कांग्रेसको इच्छा होइन बाध्यता हो भन्दै पार्टीले धैर्य गर्दा पनि यस्तो बाध्यात्मक अवस्थामा सरकारले पु¥याएको बताउनुभयो । सरकारले एकदलीय शासनजस्तो गरिरहेको भन्दै वर्तमान सरकारले सत्तामा बस्ने राजनीतिक र नैतिक अधिकार गुमाएको बताउनुभयो ।

नेकपाको समर्थक वा कार्यकर्तालाई चाहिँ जस्तोसुकै अपराध गरे पनि छुट दिने तर, कांग्रेस समर्थकलाई भने झुटा मुद्दा लगाउने गरिएको उहाँको आरोप छ । निधिले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर षड्यन्त्र बुन्न व्यस्त रहेको आरोप लगाउँदै भ्रष्टाचारीलाई आफ्नै घरमा राखेर प्रधानमन्त्री ओलीले सम्मान गरेको र अख्तियार, अदालत र सतर्कता केन्द्र आफै हुँ जस्तो ओलीले गरेको बताउनुभयो ।
यो सरकारले के गरिरहेको छ हामीले भन्नुपर्दैन भन्दै उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन नै काफी रहेको बताउनुभयो ।

मन्त्रालयमा निहित अधिकारसमेत प्रधानमन्त्रीले लिएर प्रयोग गर्नु कहाँको संघीयता हो भन्दै उहाँँले प्रश्न गर्नुभयो । अब पनि सरकार सच्चिँदैन भने कांग्रेसले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ठेगान लगाउने निधिले चेतावनी दिनुभयो । सल्लाघारीबाट शुरु भएको विरोध र्‍याली सूर्यविनायकमा गई सभामा परिणत भएको थियो । विरोध ¥याली तथा सभामा कांग्रेसका सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।