राष्ट्रपतिलाई राजीनामा दिएर राजनीति गर्न कांग्रेसको चेतावनी

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा सरकारविरुद्ध भैरहवामा सोमबार विरोध प्रदर्शन गरिएको छ । हजारौंको संख्यामा सहभागिता रहेको विरोध प्रदर्शनीमा सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासन सम्बन्धमा नाराबाजी गरिएको थियो ।

भैरहवाको बुद्धचोकबाट निस्केको विरोध र्‍याली नयाँसडक, देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी कांग्रेसका नेताकार्यकर्ताले सरकारविरोधी नारा लगाएका थिए ।

सभामा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सरकारका गलत क्रियाकलापका कारण सडकमा गणतन्त्र विरोधी नारा लाग्न थालेको बताउनुभयो । उहाँले वर्तमान व्यवस्थाविरुद्ध नभई सरकारविरुद्ध सडकमा नाराबाजी भएको भन्दै आम जनता र सरकारलाई सुनाउन नेपाली कांग्रेसले विरोध सभा गरेको स्पष्ट पार्नुभयो ।

पूर्वराजा ज्ञानेन्द्रलाई पर्दा पछाडिवाट षड्यन्त्र नगर्न चेतावनी दिँदै नेता पाण्डेले हिम्मत भए दल दर्ता गरेर खुला राजनीतिमा आउन आह्वानसमेत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैको साझा हुन माग गर्दै उहाँले नेकपाको राजनीति गर्ने भए राजीनामा दिएर राष्ट्रपति पदको गरिमा बचाउन आह्वान गर्नुभयो । नेता पाण्डेले प्रहरी प्रशासन र कर्मचारीलाई नेकपाको सती नजान भन्दै कानुनको पालना गर्न चेतावनीसमेत दिनुभयो ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले जनताले तिरेको करमा भष्ट्राचार मौलाएकाले नेपाली कांग्रेसले त्यसको विरुद्ध आन्दोलन गर्नुपरेको बताउनुभयो । सभापति शाहले सरकारले हरेक क्षेत्रमा कमजोरी गरेको जनजीविकाको सवालमा गम्भीर नभएको, केवल भष्ट्राचारमा मात्र केन्द्रित भएको भन्दै कम्युनिस्टको सरकारले अन्तर्राष्ट्रियरुपमै नेपालको बेइज्जती कमाएको दाबी गर्नुभयो ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, कांग्रेस रुपन्देही उपसभापति सरिता चौधरी, क्षेत्र नम्बर १ का सभापति हीराबहादुर खत्री र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले आम नागरिकको कृषि, स्वास्थ्य, शिक्षाको दायित्वबाट सरकार पन्छिएको, केवल भष्ट्राचारमा मात्र केन्द्रित भएको धारणा राख्नुभएको थियो ।