काठमाडौँ महानगर दिवसमा ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ घोषणा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा गरेको छ । २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाले आज यस्तो घोषणा गरेको हो । समृद्धिको आधारलाई आत्मसात गर्दै जनस्वास्थ्य सम्वन्धी सेवालाई बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले तय गरेको जनस्वास्थ्य नीति कार्यन्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपरर्दो बनाउने योजना अन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा यो कार्यक्रम घोषणा गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

उक्त कार्यक्रम अन्तरर्गत वडा–वडामा पिसाव परीक्षण गर्ने, परिक्षण गर्दा रोगको लक्षण देखिएका व्यक्तिहरुको प्रयोगशालामा परीक्षण गर्ने, सो सम्वन्धी तालिम दिनेलगायत रहेको छ । उक्त कार्यक्रम पुस १ गतेबाट लागु हुने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाटीले काठमाडौँ महानगरपालिकाले कोरोनो रोकथाम र नियन्त्रणका लागि लकडाउनको समयमा उल्लेख्य भूमिका खेलेको स्मरण गराउनुभयो । कोरोना रोकथाम र नियन्त्रणका बेला मुलुकभरीका स्थानीय तहले खेलेको भूमिकाका कारण संघीयता मुलुकका लागि अपरिहार्य भएको प्रमाणित गरेको पनि उहाँले बताउनु भयो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र कसैको निगाह वा चन्दा पुरस्कारमा प्राप्त भएको होइन,’ उहाँले भन्नुभयो, ‘अब मुलुकका लागि संघीयता स्थापित भैसकेको छ । यसलाई सामान्य झड्काले परास्त गर्न सकिन्न भन्ने पुष्टि काठमाडौँ महानगरपालिकाले गरेको छ ।’

कार्यक्रमलाई नै सम्वोधन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौँ महानगरपालिकाले सम्पदा पुर्ननिर्माण, भौतिक पूर्वाधारलगायतका विषयमा उल्लेख्य काम गरेको भन्दै आगामी दिनमा स्मार्ट सीटीका रुपमा विकास गर्दै लैजान थप भूमिका खेल्नेमा आशावादी भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गको उपस्थितिमा केही दिन अघि मात्रै काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान गर्ने विषयमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सम्झौता भएको स्मरण गराउँदै भन्नुभयो– ‘पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, लाजिम्पार्टलगायतका क्षेत्रमा आधुनिक बत्ती जडानको कार्य अघि बढाउने सहमति भएको छ । संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरलाई उज्यालो महानगर बनाउने अभियान अघि बढिसक्यो ।’

उहाँले काठमाडौँ महानगरपालिकाले भित्रि सडक मात्रै होइन मुख्य सडक पनि झिलिमिली बनाउने योजनाका साथ अघि बढेको बताउनुभयो । उहाँले स्वाथ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारकारको दायित्व भित्र रहेको भए पनि काठमाडौँ महानगरपालिकाले पनि विभिन्न नियकायसँगको सहकार्यमा काम गर्दै अघि बढेको बताउनुभयो । महानगरपालिका क्षेत्र भित्र राष्ट्रियस्तरका सरकारी अस्पतालहरु रहेको स्मरण गराउँदै ती अस्पतालसँगको सहकार्यमा कोभिड नियन्त्रण र रोकथामका लागि विभिन्नखाले सहकार्य गर्दै आएको पनि उहाँले बताउनुभयो ।

‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा त्यसै मध्येको एक हो,’ उहाँले भन्नुभयो, ‘कोभिडको जोखिम बढ्नु अघि नै काठमाडौँ महानगरपालिकाले त्यसको रोकथाम र नियन्त्रणका लागि १० करोडको कोष स्थापना गरेको थियो ।’ त्यसैगरी शाक्यले सम्पदा संरक्षण, हरियाली प्रर्वद्धर्नलगायका सन्र्दभमा पनि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

हरेक वर्ष वाजा गुरुलाई सम्मान गर्दै आएको स्मरण गराउँदै शाक्यले यहाँका मुर्त–अमूर्त सम्पदाको संरक्षणमा विशिष्ट योगदान दिएका व्यक्तिहरुलाई समेत सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिकाले धेरै काम गरेको भए पनि प्रचार गर्न नसकेको बताउनुभयो ।
‘महानगरपालिकाले धेरै राम्रा काम गरेको छ ।

तर, प्रचार गर्न नसक्दा केही कमजोरी जस्तो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले अब छिटै महानगरका मुख्यमुख्य चोकमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्तीहरु जडान गर्ने तयारी गरेको छ ।’ आजै काठमाठौँ महानगरपालिकाले इन्द्रजात्रासँग सम्वन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको थियो ।

१९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा भएको दिनलाई आधार मानेर काठमाडौँ महानगरपालिकाले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई पनि महानगरपालिकाले सम्मान गरेको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका सुशासन पत्रकारिता पुरस्कारबाट १० जनालाई सम्मान गरेको छ । उक्त सम्मानबाट न्युज एजेन्सी नेपालबाट कृष्णा पौडेल, नयाँ पत्रिका दैनिक बाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहाखवरबाट अतिन आचार्य, खवर हब डटकमबाट सबिना कार्की, कान्तिपुर टिभीबाट सृजना बास्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब् बिजयरत्न तुलाधर असंबरे, लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा डाइम्स सम्मानित हुनुभएको छ ।