चिडियाखाना खुल्यो तर सिनेमा हल किन खुलेन ?



कोरोना महामारीको त्रासका कारण बन्द भएको सदर चिडियाखाना आठ महिनापछि खुलेको सुन्दा खुशी लागेको छ । कोरोना महामारीको प्रकोप अझै कम भइसकको छैन । यद्यपि नेपाली समाज बाध्यताका बीच सामान्य अवस्थामा फर्कन शुरु हुँदै छ । यसरी कोरोनाका बीच दैनिक जीवन अघि बढाउनु चुनौतीपूर्ण कार्य हो तर पनि यी कुराहरु सञ्चालन आवश्यक छ । कोरोना महामारीकै बीच केही आशा लाग्दा सन्देशहरु पनि दैनिकरुपमा बाहिर आउन थालेका छन् ।

कोरोना खोपको विकासका कुराले सिंगो मानव समुदायमा केही आशाका उज्याला किरणहरु छरिन थालेका छन् । नेपालमा पनि पछिल्लो समय कोरोना खोपको उपलब्धताको विषयमा बहस शुरु भएको छ । आम सर्वसाधारणदेखि उच्च ओहोदाको चासोको विषय बनेको कोरोना खोप नेपालमा पनि चाँडै उपलब्ध भई जनतामा आशाका किरण फैलिएको देख्न पाइयोस् । नेपालमा पछिल्लो समय प्रायः सबै क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ । यस्तैमा केही क्षेत्र भने अझै के गर्ने भन्ने अन्यौलतामा रहेको पाइएको छ । जस्तो कि चलचित्र क्षेत्र हालसम्म पनि बन्द छ ।

चलचित्र हलहरु खुल्न पाएका छैनन् । कोरोना प्रकोप बढेको भन्दै बन्द भएका अधिकांश क्षेत्रहरु खुलिसक्दा पनि चलचित्र हलहरु नखुल्नु आश्चर्यको विषय हो । अनेक भीडभाड हुने सार्वजनिक यातायातलगायतका अनेक स्वास्थ्यका दृष्टिले जोखिमयुक्त ठाउँहरु खुलिसक्दा यो क्षेत्रमा लागेको लकडाउनका कारण जनता मनोरञ्जनको क्षेत्रबाट टाढा त भएका छन् नै, चलचित्रकर्मी, निर्माता, निर्देशकदेखि लिएर स्पट म्यानसम्मलाई चर्को मारमा पारेको देखिन्छ । अब सरकारले यस्ता विषयमा प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ । कोरोना नियन्त्रणमा सरकार जति जागरुक देखिनुपर्छ उत्तिकै रुपमा कोरोनाका कारण मारमा परेका जनतामा पनि सरकारको दृष्टि जानु आवश्यक छ ।

– सुमन खत्री, ललितपुर ।

ओखर सेवनका फाइदै फाइदा

ओखर एकमात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम ९१० प्रतिशत डीबी हुन्छ ।

ओखर खाँदा मस्तिष्क चुस्त हुन्छ, स्मरणशक्ति तीक्ष्ण हुन्छ । पोषक तत्वले परिपूर्ण, प्रोटिनको राम्रो स्रोत हुने भएकाले ओखर वर्षभरि नै खान सकिन्छ । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययनअनुसार एक दाना ओखरमा १४६ क्यालोरी हुन्छ । ओखर खानाले मुटुरोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुन्छ ।

पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा ओखरले सकारात्मक प्रभाव पार्छ । एउटा अध्ययनअनुसार, दिनहुँ ७५ ग्राम ओखर खाए २१ देखि ३५ वर्षसम्मका स्वस्थ पुरुषको समूहमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार हुँदै जान्छ ।

भनिन्छ, ओखरको फाइदा यसलाई खाएको चार घण्टापछिदेखि नै पाउन थालिन्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले तपाईंको रक्तनलीलाई झन् बढी लचिलो बनाउन सघाउँछ । अनि शरीरमा रक्तसञ्चार सहज हुन गई मुटुमा बढी दबाब पर्दैन ।

ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्छ, जसले गर्दा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर बिस्तारै–बिस्तारै समाप्त हुन्छ । यसरी हाम्रो मुटुले शरीरमा रक्तसञ्चारको लागि बढी मेहनत गर्नुपर्दैन । ओखर खानाले आस्थ्मा, अर्थराइटिस, छालाका समस्या, एक्जिमा, सोराइसिसजस्ता रोगबाट जोगिन सकिन्छ ।

ओखर खानाले पाचन क्रिया राम्रो हुन्छ, पेटसम्बन्धी समस्याबाट छुटकारा पाइन्छ । यो खानाले पेटका कीराहरूसमेत मर्छन् । ओखरले प्यान्क्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट समेत बचाउँछ । यसले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । खोकीले सताउँदा ओखर भुटेर खाने गरे आराम पाइने कुरो आयुर्वेदमा उल्लेख छ । घुँडा दुखे ओखरको तेलले मालिस गर्दा निको हुन्छ । ओखर खाइरहने गरे निद्रा नलाग्ने समस्या पर भाग्छ ।

ओखर सेवनले शरीरमा मेलाटोनिन हार्मोन बढी निस्किन थाल्छ । मेलाटोनिन निद्रासँग सम्बन्धित हार्मोन हो । यसले नर्भस सिस्टमको सन्देशलाई मस्तिष्कमा पठाउन र निद्रासँग जोडिएका सबै गतिविधिमा महत्वपूर्ण भूमिका खेल्छ । मेलाटोनिनको बढी मात्राले गर्दा निद्रा राम्ररी लाग्छ । मधुमेहका बिरामीका लागि ओखरले एक औषधिको रुपमा काम गर्छ । त्यसैले मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

ओखरमा भिटामिन ई हुन्छ, जसले छालासम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ । ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियतसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृगौलामा पत्थरी हुनबाट जोगाउँछ । ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ, जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

– मुना गुरुङ, मनाङ ।

स्थानीय सरकार : अधिकारसँगै ठूलो जिम्मेवारी

स्थानीय तहहरू आर्थिकरूपमा अत्यन्तै असमान छन् । कमजोर स्थानीय तह प्रतिस्पर्धामा खरो उत्रनुपर्ने बाध्यता छ । त्यो किसिमको दूर दृष्टि, सोच र व्यवहार राजनीतिक नेतृत्वमा देखिनु आवश्यक छ । साथै कर्मचारीको क्षमता विकासमा राज्यले विशेष ध्यान पुर्‍याउनु जरुरी छ । संविधानले स्थानीय तहलाई राज्य शक्तिको प्रयोग गर्ने अधिकार सुम्पेको छ ।

आफ्नो शासन आफैं गर्ने, आफ्नो अधिकारको स्रोत आफैं हुने र आफ्नो कानुन आफैं बनाउने हुँदा अब नेपाली जनता वास्तवमा सार्वभौमसत्ता सम्पन्न भएका छन् । तर संविधानले त अधिकार सम्पन्न मात्र बनाएको हो । यसरी प्राप्त अधिकारलाई सदुपयोग गर्दै अनुशासित, जिम्मेवार, निःस्वार्थ र दृढ इच्छाशक्तिको माध्यमद्वारा आफ्नो तहको विकास गर्ने अभिभारा पनि जनताकै काँधमा आएको छ ।

केन्द्रतर्फ औंला देखाएर पन्छिने छुट अब स्थानीय तहलाई छैन । अधिकारसँगै ठूलो जिम्मेवारी थपिएको छ । अब पनि स्थानीय तहका प्रतिनिधि इमानदार, सक्षम, विकासप्रेमी र जिम्मेवार हुन सकेनन्, सामुदायिक हितभन्दा दलगत वा व्यक्तिगत हितमा लागे भने र यसमा जनता आफैंसमेत सचेत हुन सकेनन् भने अब जोगाउने कोही हुने छैनन् । प्राप्त अवसरहरू गुम्नेछन्, समग्र व्यवस्था नै असफल हुनेछ ।
तर हामी आशावादी भने हुनुपर्दछ । आजको नेपाली समाजले इमानदार, कर्तव्यनिष्ठ र दूरदृष्टियुक्त नेतृत्व खोजेको छ । राजनीतिको नाममा जनता ढाँट्ने, छलकपटी गर्ने, उनीहरूको गरिबी र अशिक्षासँग खेल्ने, अन्धकारमा राखेर आफ्ना अभीष्ट पूरा गर्ने दिन अब गइसके । त्यसतर्फ सबै सचेत हुनुपर्दछ, सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा सुधार गर्दै समग्र विकासमा इँटाहरू थप्नुपर्ने जिम्मेवारी हाम्रै काँधमा छ ।

– गणेश थामी, सुर्खेत ।

प्रतिक्रिया दिनुहोस्