मलिन मेलम्ची



तीन वर्षअघि सम्बन्धित एक विज्ञले उपत्यकामा अझै चार वर्ष मेलम्चीको पानी आउँदैन भनेको थिए । त्यति बेला आउँदो दशैंमा काठमाडौंबासीले मेलम्चीको पानी खान पाउँछन् भनेर सरकारमा रहेका व्यक्तिहरूले भन्दै आएका थिए, जबकि दशैं आउन मात्र तीन महिना बाँकी थियो । त्यस बेला ती विज्ञलाई जनताले नराम्रो दृष्टिले हेरेका थिए– काममा भाँजो हाल्ने व्यक्ति भनेर । त्यसपछि पनि सम्बन्धित मन्त्री, कर्मचारीलगायतले मेलम्चीको पानी तीन महिनामा आउँछ, आगामी वैशाखमा आउँछ, दशैंसम्म आउँछ भनेको आवाज त धेरैपटक सुनियो । यहाँका बासिन्दा मेलम्चीको पानी खान पाउने आशामा ३२ वर्ष बिताइसकेका छन् । सोही समयदेखि यति समयमा पानी आउँछ भनेर आस देखाउनेहरु धेरै भए । यस्तो आस देखाएपछि अब त पानी खान पाइने भयो भन्दै जनताले पाइप बिच्छ्याएर घर–घरमा धारा जडान गर्नसम्म भ्याइसकेका छन्, तर यस्तो आस निराशामा परिणत भइरहेको छ । नेताहरुले जनतालाई झुक्याउने प्रमुख साधन मेलम्चीको पानीलाई बनाइरहेका छन् । सरकारले मेलम्ची आयोजनाको कार्य ९५ प्रतिशत सकियो, ९७ प्रतिशत सकियो भनी जनतालाई झुक्याएको पनि लामो समय भइसकेको छ ।

गत असारमा सुरुङ परीक्षणको क्रममा हेडबक्सको निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाउँदा ढोका गलत तरिकाले डिजाइन भएकाले दुर्घटना भई दुई जनाको निधन भएको थियो । आयोजनाको भौतिक निर्माणको कार्य शुरु भएको पनि २० वर्ष पुगिसकेको छ । सुरुङको कार्य थालनी भएको पनि १२ वर्ष नाघिसकेको छ । यस बीचमा पाइप बिच्छ्याउन कतिपटक सडक खनियो, खाल्डो पारिएको सडक त्यतिकै छोड्दा धेरैको ज्यान पनि गइसकेको छ । खनिएको सडक लामो समयसम्म मर्मत नगर्दा स्थानीयबासीको हैरानी त्यतिकै दुःखदायी थियो । त्यस्तो दुःख अझै पनि छँदै छ । सुन्दरीजल महाँकाल हुँदै चावहिलसम्म खानेपानी आयोजनाको बारम्बार खडक भत्काउने कार्यले सबैभन्दा बढी सो क्षेत्रका जनताले हैरानी झेलिरहनुपरेको छ । मेलम्चीको पानी नआएसम्म काठमाडौं उपत्यकामा सडक भत्काउने, बनाउने, फेरि भत्काउने कार्य निरन्तर चलिरहने अवस्था रहेको भुक्तभोगीहरुले बताउने गरेका छन् । काठमाडौं उपत्यकाबासी पानी आउने मितिको आश्वासन र सडक खन्ने कार्यले दिक्क भइसकेका छन् । जुन सरकार आए पनि यसरी आश्वासन दिने कार्य छोडेका छैनन् । सडक खन्ने कार्य उत्तिकै तीव्रताका साथ हुन्छ । खनिएको सडक बनाउने वास्ता कसैलाई पनि हुँदैन । यस्ता अधुरा आश्वासनले जनता अब सहने वाला छैनन् ।

अबके कति समयमा मेलम्चीको पानी राजधानी आउँछ भनी स्पष्ट मिति तोक्नु आवश्यक छ । सम्बन्धित प्राविधिक, विज्ञ तथा सरकारका प्रतिनिधि बसी के–कति समयमा अब पानी आउँछ भनी अध्ययनका साथ निक्र्र्याैल गरी जनतालाई स्पष्ट मिति दिनुपर्छ । त्यस्तो मितिसमेत तोक्न नसक्नेको हातमा मेलम्ची आयोजना परेको हुनाले अस्थायी बाँधमार्फत पानी पठाउँदा ढोका खोलिएकाले दुई जनाको ज्यान गएको शंका गर्नुपर्ने अवस्था पनि नआएको होइन । जे–जस्तो भए पनि अब स्पष्ट मिति तोक र सोही मितिदेखि राजधानीबासीलाई मेलम्चीको पानी खान देऊ । अब मेलम्चीलाई मलिन नबनाऊ !

प्रतिक्रिया दिनुहोस्