दशरथचन्दका विद्यालय आइतबारदेखि खुल्ने

0
Shares

बैतडी, (नेस)

बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् । मंसिर १२ देखि नगरपालिकाले गरेको लकडाउनका कारण बन्द रहेका विद्यालय आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् ।

विद्यालय सञ्चालन गर्नका लागि नगर कार्यपलिकाको बैठकले निर्णय गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।

बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ को परिधिभित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभयो ।

लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्यप्रभावित भएकाले सञ्चालनको तयारी भएको हो ।

नियमितरूपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड–१९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले बन्द गर्न सक्ने संयोजक नाथ बताउनुहुन्छ ।

कोरोनाको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने दशरथचन्द नगरपालिकाले जनाएको छ ।

दशरथचन्द नगरपालिकामा हालसम्म १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४२ जना मात्रै सक्रिय अवस्थामा छन् ।