एसईईको प्रश्नपत्र नष्ट गरिने

कक्षा ११ र १२ को विषयमा छलफल जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाको सुरक्षा घेराभित्र रहेको एसईईको प्रश्नपत्र नष्ट गर्ने भएको छ । कोभिडका कारण २०७६ सालको परीक्षा बोर्डले सञ्चालन गर्न नसकेपछि काम नलागेका ती प्रश्नपत्र नष्ट गर्न लागिएको हो ।
बोर्डले करिब २ करोडभन्दा बढी खर्चेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ गरिएको थियो ।

६ अनिवार्यसहित करिब ८५ विषयमा ५० लाख थान प्रश्नपत्र छपाइ गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘बोर्डको बैठकले प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला समन्वय समितिले निर्णय गरी प्रश्नपत्र नष्ट गर्ने व्यवस्था गरेको हो ।’

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बोर्डको बैठकले सबै जिल्लामा अनुकूल समयमा प्रश्नपत्र नष्ट गर्न पत्राचार गरेको जानकारी दिनुभयो ।

कोभिड–१९ संक्रमण बढ्न सक्ने भन्दै सरकारले परीक्षा सञ्चालन हुनु एक दिनअघि परीक्षा स्थगित भएको घोषणा गरेको थियो । बोर्डले सबै तयारी गरेर परीक्षा सञ्चालन गर्ने जनाइरहेकै अवस्थामा सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

लगत्तै चैत ११ बाट लकडाउन गरेको थियो । प्रहरी कार्यालयमा थन्किएको प्रश्नपत्र हटाउन प्रहरीले बारम्बार ताकेता गरेको थियो । लगत्तै प्रहरीले शिक्षा विकास तथा समन्वय एकाइलाई प्रश्नपत्र फिर्ता लगिदिन ताकेता गर्दै आएका थियो ।

बोर्डले ती प्रश्नपत्र गत २०७६ साल फागुनको तेस्रो सातामा जिल्लाहरुमा पठाइसकेको थियो । परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने भएका थिए ।

परीक्षामा नियमित (साधारण)तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने तथ्यांक थियो ।

सरकारले कक्षा १० को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय गरेसँगै विद्यालयबाट पठाएको अंकका आधारमा बोर्डले परीक्षाफल मात्रै प्रकाशित गरेको थियो ।

यसैबीच यो वर्षको कक्षा ११ र १२ मा छपाइएको प्रश्नपत्र नष्ट गर्ने विषयमा छलफल भइरहेको छ । कोभिडको कारण ११ र १२ मा संक्षिप्त परीक्षा भएपछि सय पूर्णाङ्कलाई आधार मानेर छपाइ भएको प्रश्नपत्र नष्ट गर्ने विषयमा छलफल भइरहेको बोर्डले जनाएको छ ।

दुवै कक्षाको प्रश्नपत्र प्रहरीको सुरक्षा घेराभित्र बोर्डको मुख्यालयमा राखिएको छ । बोर्डको बैठकले निर्णय गरेपछि मात्र प्रश्नपत्र नष्ट गर्ने प्रक्रिया शुरु हुन्छ । बोर्डले करिब २ करोड रुपियाँ खर्च गरेर कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ गरेको थियो ।