नवौंको मिति राखेपको बोर्ड बैठकबाट तय हुने


नेपाल समाचारपत्र, काठमाडौं

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुदको मिति राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा तय गरिने बताउनुभएको छ ।

राखेपको आयोजनामा सञ्चालन भएको अन्तक्र्रिया कार्यक्रममा मन्त्री सुनारले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताउनुभएको हो । कोभिडको प्रभाव र असरलाई न्यूनीकरण गर्दै खेल क्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अभिभारा भएको भन्दै उहाँले भन्नुभयो –‘१३औं साग सम्पन्नपश्चात् १ वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिवेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट विचलित हुने थिएनौं । यद्यपि, भव्यताको कुनै कमी नरहने गरी नवौं राष्ट्रिय खेलकुद हुन्छ, यसका लागि आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्नेछ ।

अन्तक्र्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा सञ्चालनसम्बन्धी विषयमा छलफल भएको थियो । त्यस्तै, राष्ट्रिय खेलकुद विकास ऐन ०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि सञ्चालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।

अन्तक्र्रियामा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको छ । सिलवालले भन्नुभयो—‘ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरूको पनि प्रशिक्षण शुरू भएको छ, कोभिडको केन्द्र खेलकुद नबनोस् त्यो कुरामा हामी सचेत छौं ।

यसैगरी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष तथा सांसद् जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राख्नुभयो । योसँगै यस वर्ष खेलकुद प्रतियोगिता नहुने पनि पक्का भयो । नेपाल कबड्डी संघकी अध्यक्ष संसद् तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सूर्य भण्डारीलगायत विभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तक्र्रिया कार्यक्रममा आ–आफ्नो धारणा राख्नुभएको थियोे ।