प्रचण्डले पेस गरेको प्रतिवेदन फिर्ता होला !


काठमाडौं, (नेस)

पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एक घण्टा भएको भेटवार्तामा दुवै अध्यक्षले आ–आफ्नो अडान राखेपछि विनानिष्कर्ष टुंगिएको थियो ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पार्टीभित्रको समस्याका बारेमा अध्यक्षद्वयका बीचमा छलफल भएको बताउनुभयो । उहाँका अनुसार विषयवस्तुमाथि छलफल भए पनि अध्यक्ष प्रचण्डले कमिटीले नै अहिलेको समस्याको बारेमा निर्णय गर्ने अडान लिनुभएको छ ।

दुई अध्यक्षबीच मंसिर २० गते भेटवार्ता भएको थियो । पार्टीभित्रको आन्तरिक विवाद चर्किंदै जाँदा सचिवालय बैठकमा अध्यक्षद्वयले फरक–फरक प्रतिवेदन प्रस्तुत गरेपछि विवाद झन् चर्किंदै गएको छ । सचिवालय बैठकमा दुई प्रतिवेदनमाथि निर्णय हुन नसकेपछि दुवै अध्यक्षको प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ । स्थायी समितिको बैठक यही मंसिर २८ गतेको लागि बोलाइएको छ ।

सात दिन प्रतिवेदन अध्ययन गर्न दिएर अध्यक्षद्वय ओली र प्रचण्ड संवादमा जुटेका छन् । त्यसै गरी जारी विवाद समाधान गर्न दोस्रो तहका नेताहरु पनि सहमति निर्माणमा सक्रिय बनेका छन् । अध्यक्ष ओलीले प्रचण्डले पेस गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने अडान राख्नुभएको छ भने प्रचण्डले बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता नलिने अडान लिँदै आउनुभएको छ । दुवै अध्यक्षको अडानका कारण सचिवालय हुँदै विवाद स्थायी समितिमा पुगेको छ ।