‘कोही कतै गाडिएको आशंका भएमा खबर गर्नू’


  • विकास भट्टराई, काठमाडौं

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित बेपत्ता आयोगको टोली द्वन्द्वकालमा हराएका व्यक्ति गाडिएको अवस्थामा फेला परेमा खबर गर्न सुदूरपश्चिम र कर्णाली प्रदेशका पीडित भनिएकालाई आह्वान गर्दै काठमाडौं फर्किएको छ ।आयोगका सदस्य वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले ती दुई प्रदेशबाट द्वन्द्वकालमा लगभग ३ सय ७५ जति हराएका भनी उजुरी परेको जानकारी दिँदै तीमध्ये कसैलाई गाडिएको फेला परेमा खबर गर्न आह्वान गरिएको बताउनुभयो ।

आयोगको चारवटा टोली आठ जिल्लामा विस्तृत अनुसन्धान गरेर काठमाडौं फर्किएको छ । कालीकोट तथा पूर्वी रुकुममा आयोगका सदस्य भण्डारीको नेतृत्वको टोली गएको थियो । गंगाधर अधिकारीको नेतृत्वको टोलीले जुम्ला र पश्चिम रुकुममा विस्तृत अनुसन्धान गरेको थियो ।

यसै गरी आयोगका अर्का सदस्य सुनीलरञ्जन सिंहको टोली मुगु र दार्चुला जिल्ला गई फर्केको छ । आयोगका सदस्य संगीता थापाको टोली बाजुरा र बझाङ गएको थियो ।आयोगका सदस्य भण्डारीले भन्नुभयो– ‘यी चारवटै टोली काठमाडौं फर्किएको छ । सम्बन्धित क्षेत्रबाट परेको उजुरीमा विस्तृत अध्ययन गरी हामी फर्किएका छौं । काठमाडौंमा अब थप अनुसन्धान गर्छौं ।’विस्तृत अनुसन्धान गर्दा उजुरी दिने तथा साक्षी भए उनीहरुसँग थप कुरा बुझ्ने कार्य हुने बताइएको छ । सो कार्यमा बेपत्ता भएका व्यक्ति राज्य पक्ष वा विद्रोही पक्षमध्ये कसले बेपत्ता बनाएको हो भन्नेबारेमा पनि सोधपुछ हुने उल्लेख गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा लगभग ३ सय ७५ जति हराएका भनी उजुरी परेको जानकारी दिँदै आयोगका सदस्य भण्डारीले त्यसमध्ये कोही कतै गाडिएको भन्ने आशंका भएमा आफूहरुलाई खबर गर्न भनेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।कोही व्यक्ति गाडिएको अवस्थामा फेला परेमा अन्तर्राष्ट्रियस्तरका टोली, विशेषज्ञ तथा आयोगको टोलीलगायत सम्बन्धित ठाउँमा गई अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन गरेपछि बेपत्ता आयोगले १० वटा जिल्लामा विस्तृत अनुसन्धान गर्न पाएको थिएन । अब भने ती जिल्लामा पनि विस्तृत अनुसन्धान गर्ने कार्य सकिएको सदस्य भण्डारीले बताउनुभयो ।रकारले गत वर्षको माघ महिनामा बेपत्ता आयोग र सत्य निरुपण तथा बेपत्ता आयोग गठन गरेको थियो । ती दुई आयोगको कार्यकाल आउँदो माघ २६ गते सकिँदै छ । आयोगमा लगभग ३ हजारको हाराहारीमा उजुरी परेको बताइएको छ ।