पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको रोक


नेपाल समाचारपत्र, पोखरा
पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा स्थानीयले रोक लगाएका छन् । पोखरा–१४ चाउथे अवस्थित ल्यान्डफिल्ड साइडमा मंगलबारदेखि फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका हुन् ।

तत्कालीन पोखरा उपमहानगरपालिका र वडा नं १८ का स्थानीय बीच भएको २८ बुँदे सम्झौताको कार्यान्वयन नभएको भन्दै स्थानीयले विरोध गरी अनिश्चितकालका लागि फोहोर व्यवस्थापनमा रोक लगाएका छन् ।

ल्यान्डफिल्ड साइट प्रभावित जनसरोकार समितिले बारम्बार सम्झौता कार्यान्वय गर्न आग्रह गरे पनि महानगरले बेवास्ता गरेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको समितिका अध्यक्ष बोधबहादुर कार्कीले बताउनुभयो ।

गएको सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको भन्दै माग पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान स्थानीयले लिएको कार्कीको भनाइ छ ।

२०५७ साल भदौ १३ गते उपमहानगर र स्थानीयबीच २८ बँुदे सहमति भएको थियो । सहमतिअनुसार नगरपालिकाबाट छुट्याएको २ प्रतिशत रकममध्ये १० प्रतिशतसम्म बजेट स्थानीय क्लबहरुले वातावरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा अधिकार सम्पन्न नगरस्तरीय वातावरण समितिमा योजना पेस गरी कार्यान्वयन गराउने भनी निर्णय गरिएको थियो । तर, सोही रकम जनप्रतिनिधि आएपछि अन्यत्र पारेको स्थानीयको गुनासो छ ।

यस्तै सम्झौताअनुसार ल्यान्डफिल्डमा फोहोर व्यवस्थापनका लागि फोहोर लिएर आउने साधनले फिनेललगायतले गाडी सफा गरी सुख्खा बनाएर ल्याउने सम्झौता भएको थियो । तर, अहिले ती सम्झौता कार्यान्वयनमा नआएको अध्यक्ष कार्की बताउनुहुन्छ । सम्झौता अनुसार उपलब्ध गराउने भनिएको विकास निर्माणका लागि प्राप्त हुने रकमसमेत निरन्तरतामा आलटाल गरी विकास निर्माणमा मेत प्रभावित पारेएको उहाँको कथन छ ।

आफुहरुको माग पुरा नभए थप आन्दोलनमा जाने र यसको परिणाम महानगरले भोग्नुपर्ने स्थानीयहरुले चेतावनी समेत दिएका छन् । ल्यान्डफिल्डमा जाने बाटोमा तगारो लगाई सवारी रोक्ने काम भइरहेको छ । देशकै ठूलो महानगरले महानगरभित्र उठाएका सम्पूर्ण फोहोर त्यहीं लगेर व्यवस्थापन गर्दै आइरहेको छ । समयमै फोहोर व्यवस्थापन नहुने हो भने शहर दुर्गन्धित हुनेछ ।

त्यस्तै स्थानीय इन्द्रमाया बानियाँले जनप्रतिनिधि नहुँदा सम्झौताको कार्यान्वय हुने गरे पनि जनप्रतिनिधि आएपछि भने कार्यान्वय नभएको बताउनुभयो । महानगरले वातावरणको समेत मापदण्ड पूरा नगरी अव्यवस्थितरूपमा फोहोर व्यवस्थापन गर्दै आइरहेको उहाँले बताउनुभयो । स्थानीयले मंगलबार बिहानैदेखि फोहोर बोकेर जाने सवारी रोकिदिएका छन् ।