रमेश र सुरेन्द्र अन्तिम चारमा


काठमाडाैं, (नेस)

चौताराका रमेश श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

तोप–२१को आयोजनामा भएको प्रतियोगिताको मंगलबार सम्पन्न सिन्धुपाल्चोक जिल्लाका खेलाडीहरूबीच भएको क्वार्टरफाइनलमा रमेशले मेलम्चीका राजन श्रेष्ठलाई २१–१०, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

यस्तै, सुरेन्द्रले बलेफीका राजकुमार तामाङलाई २१–१६, २२–२० ले पराजित गर्दै रमेशसँगको भेट पक्का गरे । अन्तिम चारमा स्थान बनाउने अन्यमा बलेफीका अजय तामाङ र त्रिपुरासुन्दरीका अभिषेक गुरुङ रहेका छन् ।

प्रतियोगिताका रेफ्री किरण काररञ्जितले जारी गरेको परिणामअनुसार अजयले चौताराका प्रकाश श्रेष्ठलाई १७–२१, २२–२०, २१–१७ ले तथा अभिषेकले मेलम्चीका नारायणलाल श्रेष्ठलाई २१–११, २१–१०ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा भएको ब्याडमिन्टन इतिहासकै सर्वाधिक पुरस्कार राशी रहेको ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीले मेलम्चीका राजन श्रेष्ठ र किशन दुलालको जोडीलाई १७–२१, २१–१४, २१–१९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

बलेफीका अजय तामाङ र राजकुमार तामाङको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१८, २१–१९ले, चौताराका सुरेन्द्र श्रेष्ठ र कैलाश घलेको जोडीले बलेफीका साजन राजभण्डारी र विकास पराजुलीको जोडीलाई २१–१४, २१–१३ले तथा त्रिपुरासुन्दरीका अभिषेक गुरुङ र युवराज अधिकारीको जोडीले मेलम्चीका नारायण लाल श्रेष्ठ र कुमारबहादुर सापकोटाको जोडीलाई २१–१८, २१–१७ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

राष्ट्रियस्तरका पुरुष एकलमा विजयी खेलाडीहरूका लागि सर्वाधिक पुरस्कार राशी १ लाख ११ हजार १ सय ११ रहेको प्रतियोगितामा उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्तै, सेमिफाइनलिस्ट (तृतीय स्थान)का दुईले जनही १० हजार प्राप्त गर्नेछन् ।

यस्तै, जिल्लास्तरीय पुरुष एकलका विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र सेमिफाइनलिस्ट दुई जनाले जनही ५ हजार प्राप्त गर्नेछन् । युगलतर्फ विजेता जोडीले ४० हजार, उपविजेता जोडीले ३० हजार र सेमिफाइनलिस्ट दुई जोडीले ५/५ हजार प्राप्त गर्नेछन् ।