श्रीमान्को दुर्घटनामा मृत्युपश्चात् श्रीमतीले गरिन् साइप्रसमा देहत्याग


चिरञ्जीवी मास्के, दोलखा

नेपालमा आफ्नो श्रीमान्को दुर्घटनामा परेर मृत्यु भएको खबर थाहा पाएलगतै साइप्रसमा एक युवतीले आत्महत्या गरेकी छन् । आइतबार दोलखाको विगु गाउँपालिका–५ लाइसेफमा बोलेरो दुर्घटनामा परेर चालक दोलखाकै गौरीशङ्कर गाउँपालिका–८ खारेका २४ वर्षीय सुविन तमाङको मृत्यु भएको थियो ।

श्रीमान्को मृत्यु भएको खबर पाएलगतै साइप्रसको लार्नाकामा घरेलु कामदारका रूपमा रहेकी २३ वर्षीय सुक्री तमाङले नेपाली समयअनुसार आइतबार राति नै आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ । सुक्रीले टिकटकमा श्रीमान्को फोटो र ससुरासँग कुरा गरेको आवाज राखेर आमा, बुबा र सासूससुरासँग क्षमा माग्दै आफू पनि आफ्नो मुटुसँगै जान लागेको लेखेकी थिइन् ।

दोलखाकै विगु गाउँपालिकाको लादुक माइत भएकी सुक्री तामाङले तीन वर्षअघि सुविनसँग विवाह गरेकी थिइन् । उनी एक वर्षअघि घरेलु कामदारका रूपमा साइप्रस पुगेको उनका आफन्तले बताएका छन् । श्रीमान्को मृत्यु भएको खबर सुनेपछि सुक्रीले घरमा सासूससुरालगायत आफन्तसँग फोन गरेर आफू पनि सुविनसँगै जाने भन्दै पीडा पोखेकी थिइन् ।

आइतबार विगु गाउँपालिकाको ठाक्रेबोटबाट सिंगटी आउँदै गरेको बा२०च ४३७३ नम्बरको बोलेरो लाइसेफको जङ्गलमा सडकबाट झन्डै १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा सुविन तमाङको मृत्यु भएको थियो ।