विप्लव समूहले रेट्यो शिक्षकको घाँटी


विराटनगर, (नेस)

मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि भएको छ ।

यसअघि प्रहरीले स्थानीयले दिएको जानकारीको आधारमा गोली हानेर हत्या भएको बताएकोमा प्रहरी टोली घटनास्थल पुग्दा घाँटी रेटेर हत्या भएको खुलेको हो । सामाजिक अगुवासमेत रहेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरिएको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो ।

उनलाई घरबाटै ४–५ जनाको समूहले अपहरण गरेर लगेको एक घण्टापछि स्थानीयले शव भेटेका थिए । घटना भएको करिब ८ घण्टापछि प्रहरी पूर्वोत्तर मोरङको विकट क्षेत्रमा पर्ने घटनास्थलमा पुगेको थियो ।

मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी ईश्वरबाबु कार्कीले जानकारी दिनुभयो ।

घटनास्थलमा मोरङ प्रहरीको टोलीले मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उहाँले बताउनुभयो । स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा गोली हानेर हत्या भएको जानकारी दिए पनि मृतकको शवमा गोली प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज स्थानीयले सुनेका थिए ।

त्यसपछि स्थानीयले उनको खोजी गर्ने क्रममा जंगलमा शव भेटेर प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दूरीमा छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले विप्लव समूहका कार्यकर्ताले श्रेष्ठको अपहरण गरी हत्या भएको सूचना रहेको जानकारी दिनुभएको छ ।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डीएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको डीआईजी कार्कीले जानकारी दिनुभयो । प्रहरीले सो क्षेत्रलाई शिलबन्दी गरेर हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको छ । यसअघि शिक्षक श्रेष्ठको घरनजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहको सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए । स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए । इलामको चुलाचुली गाउँपालिका–६ का सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का प्रतीक भनिने काशिनाथ घिमिरे हतियारसहित पक्राउ परेका थिए ।

मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमान्डर ताप्लेजुङका पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए ।