प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान


नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । पछिल्लो केही दिनयता देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका उहाँले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय संसद्मा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको छ । पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

गत शनिबार मात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए ।

आइतबार बसेको स्थायी समिति बैठकमा नेता जनार्दन शर्माले राजवादीको आन्दोलनमा प्रधानमन्त्री ओलीले नै संरक्षण दिएको आरोप लगाउँदै लिखित प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राजवादीहरुले राजधानी काठमाडौंसँगै देशका विभिन्न क्षेत्रमा दिनहुँ जुलुस निकाल्न थालेपछि नेकपाभित्रबाटै सर्वदलीय बैठक बोलाउनुपर्ने माग हुँदै आएको थियो ।