त्रिविको ४६औं दीक्षान्त समारोह: सीमित विद्यार्थी मात्र सहभागी हुने


नेपाल समाचारपत्र, काठमाडौं

त्रिभुवन विश्वविद्यालयले यो वर्षको ४६औं दीक्षान्त समारोह संक्षिप्तरुपमा आयोजना गर्ने भएको छ । आउँदो पुस ६ गते त्रिवि परिसरमै आयोजना हुने समारोहमा सरकारले अपनाएको सबै स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ ।

समारोहमा सहभागी विद्यार्थीले अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्नेछ । उपाधि लिने विद्यार्थीले फेससिल्डसमेत प्रयोग गर्नुपर्ने भएको छ ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र दीक्षान्त समारोहमा सहभागी गराइने बताउनुभयो ।

दीक्षान्त समारोहमा त्रिविले प्रमुख अतिथिका रुपमा भारतका विभिन्न विश्वविद्यालयका उपकुलपति र विशिष्ट व्यक्तिलाई निम्तो दिएको थियो ।

कोभिड–१९का कारण विदेशी पाहुनाले उपस्थित हुन नसक्ने जानकारी दिएपछि यो वर्षको दीक्षान्त समारोहका प्रमुख अतिथिका रुपमा पूर्वराष्ट्रपति डा. रामवरण यादव रहनुहुने भएको छ ।

कोभिड–१९का कारण प्रमुख अतिथिका रुपमा विदेशी पाहुनाले उपस्थिति हुन नसक्ने जानकारी गराएपछि यो वर्षको दीक्षान्त समारोहका प्रमुख अतिथिका रुपमा पूर्वराष्ट्रपति डा. रामवरण यादव रहनुहुने भएको छ ।

यो वर्षको दीक्षान्त समारोहमा एमफिल, पीएचडी, पदक पाउने र केही उत्कृष्ट विद्यार्थीलाई मात्र सहभागी गराउने तयारी त्रिविले गरेको छ । दीक्षित विद्यार्थीहरु तोकिएकै पोसाकमा उपस्थित हुनुपर्ने भएको छ ।
रजिस्ट्रार प्राडा दाहालका अनुसार दीक्षान्त समारोह त्रिविको खुला चौरमा सीमित सहभागितामा सरलरुपमा आयोजना गर्न लागेको हो ।

‘हामी भीडभाड गर्दैनौं, सीमित र पदक पाउने विद्यार्थीलाई मात्र सहभागी गराउने भएका छौं।’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो ।

सबैलाई एकैसाथ शैक्षिक उपाधि उपलब्ध गराउन असम्भव भएपछि त्रिविले मूल कार्यक्रम सकेलगत्तै संकायअन्तर्गतका विद्यार्थीलाई उपाधिको प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

सबै संकायले छुट्टाछुट्टै उपाधिको प्रमाणपत्र दिने तयारी गरेको छ । त्रिविअन्तर्गत ९ संकायको डीन कार्यालयले उपाधिको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरेको छ ।

कोभिडको कारण देखाई रोक्ने अवस्था नभएपछि त्रिवि कार्यकारी परिषद्को बैठकले पुस ६ गते दीक्षान्त समारोह आयोजना गर्ने घोषणा गरेको हो ।

यसअघि त्रिवि स्मृति भवनमा आयोजना गर्ने तयारी भएको थियो । खुला क्षेत्र आवश्यक पर्ने भएकाले स्मृति भवन वा त्यसको विकल्पका रुपमा त्रिवि परिसरको चौर वा परीक्षा नियन्त्रण कार्यालय बल्खु परिसरमा गर्ने तयारी भइरहेको रजिस्ट्रार प्राडा दाहालले जानकारी दिनुभयो ।

यो वर्ष करिब ७ हजारभन्दा बढी विद्यार्थीले दीक्षान्तका लागि आवेदन फारम भरेका थिए । तीमध्ये सीमितलाई मात्र आमन्त्रण गर्ने तयारी भइरहेको छ । त्रिविले समारोहलाई प्रविधिसँग जोडेर जुम र विभिन्न टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।

कसरी बढी सहभागिता हुने गरी आयोजना गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताउँदै रजिस्ट्रार दाहालले भन्नुभयो– ‘मिति र प्रमुख अथिति निक्र्योल भइसकेको छ । सहभागितासहित अन्य विषयमा निर्णय गर्न बाँकी छ ।’

यो वर्ष दीक्षान्त समारोह आयोजना नगर्दा विद्यार्थीहरुको उपाधिमा समस्या पर्ने भएपछि विषम परिस्थितिमा भए पनि आयोजना गर्ने निर्णय भएको हो ।

त्रिविले संकायगत गर्ने वा एकैस्थानमा समारोह आयोजना गरी उपाधिका लागि छुट्टाछुट्टै स्टल राखेर वितरण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको त्रिविले जनाएको छ ।