उल्कापिण्ड खस्दा न्युयोर्कदेखि टोरोन्टोसम्म कम्पन


न्युयोर्क, (एजेन्सी)

अमेरिकाको दक्षिणी ओन्टारियोमा एक उल्कापिण्ड खस्दा ठूलो विस्फोट भएको बताइएको छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा उक्त चट्टान बल्न थालेपछि दिउँसै झन् चहकिलो देखिएको र त्यसको विस्फोटले जमिनमा कम्पन महसुस गरिएको थियो ।

अमेरिकन मेटियर सोसाइटीले मेरिल्यान्ड, वासिङ्टन डिसी, भर्जिनिया, पेन्सिलभेनिया, न्युयोर्क, ओन्टारियो र मिसिगनबाट उल्कापिण्ड देखिएको विषयमा करिब एक सय ५० रिपोर्टहरू प्राप्त भएको दाबी गरिएको छ । नासाको मेटोराइड इन्भारोनमेन्ट अफिसका प्रमुख बिल कुकले उक्त उल्कापिण्ड हाम्रो वायुमण्डलमा प्रवेश गर्नुअघि पश्चिमतर्फ ५६ हजार माइल प्रतिघन्टाको बेगमा हुँइकिएको बताए ।

त्यसपछि मध्य न्युयोर्कमा सतहबाट करिब २२ माइल माथि यो दुई टुक्रा भएको जसबाट आवाज, सोनिक बुम उत्पन्न भएको हो । एक प्रत्यक्षदर्शीले यो बैजनी र हरियो रङमा चम्किलो देखेको र एकैछिनमा गायब भएको बताए । सामाजिक सञ्जालमा मानिसहरूले आवाज धेरै ठूलो भएको र त्यसले घरै हल्लिएको बताएका छन् । अमेरिकी मेटियर सोसाइटीका रोबर्ट लन्सफर्डले यो पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने उल्कापिण्ड नै भएको र अरु हुन नसक्ने बताए । उल्कापिण्डको उक्त आवाज क्यानाडाको टोरोन्टोमा पनि सुनिएको बताइएको छ ।

उनले भने, कुनै ठूलो शहरनजिकै भएको यो घटना दुर्लभ हो । धेरैजसो यो पानीमा मात्र खस्ने गरेको छ ।
वायुमण्डलमा प्रवेश गर्ने उल्कापिण्ड कम वेगको हुने बताउँदै यो कुनै छुद्रग्रहको टुक्रा हुनसक्ने कुकले बताए । यसअघि जापानको एक शहरमा पनि बोलाइड खसेको थियो र उक्त घटना पनि क्यामरामा कैद भएको थियो ।