प्रदेश १ मा लैंगिक हिंसाको घटनामा वृद्धि


हरिहर नेपाल, विराटनगर ।

विभिन्न संघ संस्थाले वर्षभरी विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दा पनि प्रदेश १ मा महिलामाथि हुने हिंसाको घटना बढिरहेको पाइएको छ ।

प्रदेश १ का १४ जिल्लाको तीन वर्षको तथ्यांक हेर्दा दैनिक सरदर २ जना महिला घरेलु हिंसाको शिकारमा पर्ने गरेको पाइएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेख अनुसार तीन वर्षमा २ हजार ४ सय २८ वटा हिंसाको घटना भएको छ । लैंगिक हिंसामा सबैभन्दा बढी जवरजस्ती करणीको घटना भएका छन् भने तीन वर्षमा प्रदेशभित्र १ हजार ३ सय १६ वटा जवरजस्ती करणीको घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै ४ सय ६४ जवरजस्ती करणी उद्योग, मानव बेचबिखन १ सय १२, बहुबिवाह ४ सय १८, बाल विवाह २२ र बोक्सीको आरोपको घटना १८ वटा भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ७ सय ६१ वटा लैंगिक हिंसाको घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कबिन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

आव २०७४/०७५ मा भन्दा २०७५/०७६ मा ७२ वटा लैंगिक हिंसाको घटना बढेको छ । आव ०७५/०७६ मा ८ सय ३३ वटा हिंसाको घटनाको भएको प्रहरीको अभिलेखमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७६/०७७ मा हिंसाका घटना न्युन संख्यामा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ८ सय ३४ वटा हिंसाको घटना भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को कार्तिक मसान्तसम्मा ३ सय ५६ वटा लैंगिक हिंसाको घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

लैंगिक हिंसामा जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अवैध गर्भपतन, बोक्सीको आरोप, मानब वेचविखन, बहुविवाह, बालविवाह, घरेलु हिंसा, भेदभाव जन्य व्यवहार (छाउपडी, जातीय छुवाछुत ), महिलाको प्रजनन अंगको छेदन र पारिवारिक प्रतिष्ठाका लागि गरिने हत्या लाई सामावेश गरिएको छ ।

नजिकको आफन्तबाट अपराधिक घटनामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जवरजस्ती करणीको घटनामा समग्र अपराधको ६९दशमलव ६५५ मुद्दामा परिवारको सदस्य, छिमेकी, साथी, आफन्त र अन्य परिचित व्यक्तिहरू अभियुक्त रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कार्कीले जानकारी दिनुभयो ।

हिंसाका घटनामा ३दशमलव३५५ प्रतिशतमा मात्र अपरिचित अभियुक्त संलग्न रहेको पाइएको छ । ‘बलात्कारका अधिकांश घटनाका प्रतिवादी आफन्त छन’, डिएसपी कार्कीले भन्नुभयो, ‘लैंगिक हिंसा न्यूनिरकण गर्न सचेतना फैलाउने र अपराधीलाई कानूनी कारबाहीका लागि प्रहरीले तत्काल रेस्पोन्स गर्दै आएको छ ।’

लैंगिक हिंसा रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ सय २६ पटक कार्यक्रम सञ्चालन गरिएको प्रदेश प्रहरीले जनाएको छ । आब २०७५/७६ मा ६७४, आब २०७६/७७ मा ३०२ र चालु आर्थिक वर्ष २०७७/७८ मा हाल सम्म २४ पटक कार्यक्रम संचालन गरिसकिएको डिएसपी कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ अनुसार लैंगिक हिंसा नियन्त्रणका लागि स्थानीयस्तरमा समिति गठन पनि गरेको छ । महानगरपालिका १, उप–महानगरपालिका २ वटा, नगरपालिकामा ३८ वटा स्थानीय स्तरमा समिति गठन गरेको छ ।

यस्तै जिल्लास्तर १४, गाउँपालिकास्तर ६२, वडा कार्यालयमा ६ सय४६ वटा गरि ७ सय६३ वटामा समिति गठन गरिएको प्रहरीले जनाएको छ । लैंगिक हिंसा बढी हुने स्थानको पहिचान गरि सचेतना मुलक कार्यक्रम संचालन गर्न निर्देशन दिएको डिएसी कार्कीले बताउनुभयो । लैंगिक हिंसा न्यूनिकरणकालागि बालबालिकालाई शिक्षामा जोड दिन स्कूल सम्पर्क कार्यक्रम गरिएको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा महिलामाथि घरेलु हिंसाको घटना बढेको देखिएको छ ।

लकडाउनको चैतदेखि भदौसम्म २ सय १६ वटा महिलामाथिको हिंसाको घटना भएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको अवस्थामा हिंसाको घटना बढेको हो । ओरेक नेपाल मोरङको सुरक्षा आवस गृहमा जनवरीदेखि हालसम्म हिंसामा परेका ३२ जना पीडित महिलाहरू बसोवास गर्दै आएका छन् ।