रमेशकेशरी वैद्य
संसारमा हरप्राणीले केही न केही शक्ति पाइराखेको हुन्छ । ‘सर्पको मुखमा भ्यागुुताको ब्रेकडान्स’, यसलाई पनि एउटा शक्ति नै मान्न सकिन्छ । यो वाक्यको खास अर्थ हो– जब सर्पको मुखमा भ्यागुता परेको हुन्छ मृत्युको पर्खाइमा, त्यति बेला पनि पाएसम्म उसले कीरा या पुतली खानका लागि आफ्ना हातखुट्टा चलाइराखेको हुन्छ । आखिर उसले त्यो कीरा वा पुतलीलाई खाएर नै छोड्छ । वास्तवमा भन्ने हो भने हाम्रो देशमा पनि अहिले आएर यहाँ यही प्रक्रिया चलिराखेको छ ।
अहिले कोभिड–१९ तथा कोरोना भाइरसले गर्दा व्यक्तिको जीवन–मरणको ठेगान छैन, तैपनि कतिपय व्यक्ति खाली धेरै कमाउने, चाहे त्यो चाकडी गरेर होस्, चाहे कुर्सीलाई बदनाम गरेर होस् या भनौं कालोबजारी आदि गरेर होस् । यसो हेर्दा यो देशमा मानवता हराइसकेको महसुस हुन्छ । हामी यिनीहरुलाई सधैँ आलोचना, गाली, खण्डन छोडी यिनीहरुको मानसिकता परिवर्तन गर्नेतर्फ लाग्नु र कडा कानुनको दायरामा ल्याउन आवश्यक छ । तर यसको लागि बुद्धिजीवी, मिडिया, चलचित्र, सूचना विभाग तथा शिक्षण संस्थाहरु लागिपर्नु, साथै अग्रसर हुनु जरुरी छ, तब मात्रै यस्ता विकृतिहरु कम हुँदै जानेछन् ।
वास्तवमा भन्ने हो भने, वर्तमान सरकारले राष्ट्रधनको पनि उति तहबह मिलाउन सकिराखेको छैन । अहिलेको परिप्रेक्षमा राष्ट्रधन भनेको पहिला सरकारी स्कुल, हस्पिटल, राजमार्गहरु हुन् । मुलुकले यस्ता कुराको सुधारमा धन खन्याउनुपर्छ । फोहोरमैला व्यवस्थापन उत्तिकै जरुरी छ । सधैँ विलासितामा, कार्यकर्ता पाल्नमा, नेताहरुलाई स्वदेश–विदेश घुम्नमा मात्र रकम खर्च गरिराख्ने ?
अहिलेको घडीमा सरकारले कृषि तथा उद्योग व्यवसायका विकासमा मन ठूलो गरेर राम्रा–राम्रा नीतिहरु ल्याउने हो । जसअनुसार सरकारले प्रोत्साहन, कदर, सुरक्षा तथा कर सुविधा दिएर यिनीहरुलाई हौसला दिने हो ।
यसो गर्नाले देशमा ठूलो रोजगारको सृजना हुनेछ र बेरोजगारको समस्या हल हुँदै जानेछ ।
हाम्रो मुलुकमा सरकार दह्रो हुन नसक्नु, कलह हुनु, खुट्टा तान्ने संस्कार हुनु आदिले गर्दा सधैँ माछाहरु मरेको फोहोर तलाउजस्तो भइराखेको छ । यदि मानिसहरु जो–कोही पनि आफ्नो दायित्वबाट नपन्छिने हो भने, यो मुलुक सधैँ स्वर्गजस्तो भइराख्ने कुरामा दुई मत हुनेछैन ।
मानिसको जीवनमा कतिपय कुराहरु नचाहेर पनि गर्नुपर्दछ । शायद एउटा अदृश्य, अलौकिक शक्तिका कारणले होला । किनकि हरप्राणीको ढाडमा भगवान्ले रिमोट सोझ्याइराखेका हुन्छन् । जसअनुसार प्राणीहरुले रिमोटको खिलौनासरह काम गरिराखेका हुन्छन् । त्यसअनुसार नै हामी पनि चलिराखेको हुन्छौं । माथिको निर्देशनअनुसार यस्तो बेला कतिपय कामहरु हाम्रो हातबाट राम्रो भइराखेको हुन्छ भने कतिपय कामहरु खराब भइराखेको हुन्छ ।
राम्रो काम गर्दा पनि उति जश पाइराखेको हुँदैन तर गलत काम मानिसबाट हुँदा चाँडै नै त्यो व्यक्ति बदनाम पनि भैहाल्छ, जसले गर्दा उसले पछि मात्र पश्चात्ताप गर्ने गर्दछ । त्यसैले कुनै पनि गलत कार्य सकभर नगरौं, कारण गलत कामको भर्पाइ हामीले यही धर्तीमा त्यही हिसाबले बुझाउनुपर्दछ । तापनि मानिसहरु डराउँदैनन् । यसको खास कारण भविष्यको मतलब नराख्नु र अशिक्षितहरुको जमात धेरै हुनु हो ।
हाम्रो देशमा राजनीतिक विकृतिहरु त छँदै छन् । जसले गर्दा देश केही पछि परिराखेको छ, आशा गरौं देश द्रुत विकासमा जाओस्, तर यो बाहेक सामाजिक विकृति पनि उत्तिकै छ, जसले गर्दा पनि देशमा विकासको हिसाबले केही असर गरिराखेको छ ।
१. सर्वप्रथम यो मुलुकको विकासको शत्रु नै चाकडी र स्वार्थजस्ता कुसंस्कार हुन्, जसलाई समाज मिली अन्त्य गर्न सक्नुपर्दछ । कारण, यस्ता विकृतिले मुलुकलाई कहिल्यै अघि बढ्न दिँदैन । तर भनेर के गर्ने, हाम्रो समाज सुस्त छ ।
२. हाम्रो संस्कृति र परम्परा राम्रो भए पनि हाम्रो एउटा खराब बानी हो अन्धविश्वास, संकुचित, डाह भावना तथा राम्रा कुराहरुको कदर गर्न नसक्नु र ज्ञान हासिल गर्न नचाहनु । यी कुराहरु सच्चिनु तथा परिवर्तन हुनु जरुरी छ ।
३. प्रायः घरहरुमा पैसाको तङ्गी, शिक्षाको कमी, रक्सी आदीका कारणले गर्दा घरेलु हिंसा, फोहोर समस्या, लागूऔषध समस्या आदि भइराखेको हुन्छ । यसको लागि सख्त कानुन, महिला समाज तथा घरको मूली व्यक्ति राम्रो हुनु जरुरी छ । हाम्रो समाजमा बुद्धिजीवीहरु पनि धेरै छन् तर कतिपय सरकारी कार्यालयका झन्झटिला कार्यशैली सुधार नहुँदा पनि व्यक्तिहरु निरन्तर आवाज उठाउँदैनन् । उदाहरणका लागि मालपोत कार्यालय, ट्राफिक प्रहरी कार्यालय, भन्सार कार्यालयजस्ता निकाय सधैँ उस्तै देखिन्छन् ।
यसबाहेक सरकारी निकायबाट हुने विकासका कार्यहरु जस्तै– सडक, पुल, बिल्डिङ आदि निर्माण हुँदा ढिलाइ हुने, सही ठाउँमा लगानी नहुने, गुणस्तरहीन कार्य हुने, ठेकेदारको बदमासी हुनेजस्ता कुराहरु सुधार हुन सकिराखेका छैनन् । यसमा सरकारको स्वार्थ त छँदै छ, यसबाहेक समाजले पनि यिनीहरुलाई पेल्न सक्नुपर्दछ । नत्र भने राज्यलाई मात्र गाली गर्नुको कुनै अर्थ छैन । अहिले हाम्रो देशमा संघीयता आएको छ, जसअनुसार हाम्रो मुलुकमा तीन तहको सरकार छ, संघीय सरकारले निरन्तर प्रदेश सरकारलाई राम्रो कार्यको लागि कडा भएर निगरानी गरिराख्नुपर्दछ । किनकि यो जनताको करको सवाल छ । यी बाहेक प्रदेशहरुमा राम्रा–राम्रा जनप्रतिनिधिहरुको प्रवेश अनिवार्य छ । यसले प्रदेशहरुको विकास र नागरिकलाई सही बाटो पनि देखाउनेछ । तर यी सबको लागि जनता, समाज पनि चनाखो हुनु जरुरी छ । यसको लागि एक–अर्कालाई शिक्षा दिँदै जाने हो ।
प्रतिक्रिया