सुदूरपश्चिमको तीतो यथार्थ


  • भवानीप्रसाद अधिकारी

गतवर्षको जाडोमा काम विशेषले ऐतिहासिक भूगोलपार्क पुगेर एकछिन् आराम गर्दै थिएँ । त्यत्तिकैमा दुईजना वृद्धहरु घुम्दै त्यहाँ आइपुगे । सँगै दुईजना महिलाहरु पनि थिए । सुदूर पश्चिमको पहाडी लवजमा कुरा गरेको सुनेर मैले परिचय मागेँ । एकजना बैतडीको सोराडका चन्द र अर्का बाजुराको मार्तडीका शाही हुनुहुँदो रहेछ ।

उहाँहरु करिब ७५–८० वर्षको देखिनुहुन्थ्यो । मैले गाउँबाट पशुपतिनाथको दर्शन गर्न आउनुभएको हो कि ? भनेर सोधेँ । होइन रहेछ । केही वर्षदेखि उहाँहरु मातातीर्थमा भाडाको घरमा बुहारी तथा साना नानीहरुसँग बस्दै आएको थाहा भयो । वृद्ध शाहीका ७ जना छोरानाति रहेछन् तर सबै नेपालबाहिर बस्छन् रे ! घरमा कोही बस्न मान्दैनन् ।

गाउँमा बेरोजगारी छ । बुहारी बच्चा पढाउन शहर आएपछि एक्लै बस्न सकिएन । घरखेत, पाल्तु जनावर सबै छिमेकीको जिम्मा लगाएर आएँ भन्दै गर्दा उहाँ भावुक हुनुभयो । छयालीस सालपछिका सबै सरकारको काम गराइप्रति आक्रोश पोख्नुभयो । आफ्नो जन्मस्थान छोडेर सबै युवा विदेश जान बाध्य हुँदा घर भाँडिएका वा खण्डित भएका तमाम उदाहरणको उहाँ प्रतिनिधि हुनुहुन्छ ।

आजको हाम्रो नेपालको यथार्थ यही हो । उर्वर गाउँहरु उजाड हुँदै छन् । पशुपालन, कृषि व्यवसाय हराइसके । दुबई, कतार, मलेसियाको पसिनाको कमाइले शहरमा बसेर विनाझन्ंझट सबै उपभोग गर्न पाइन्छ भने दुःख किन गर्ने भन्ने सोचले व्यापकता पाएको छ । शिक्षा, स्वास्थ्य, यातायात सबै सुविधा शहर केन्द्रित छ । अझै सरकारी संस्थाबाट प्रदान हुने सेवामा मान्छेहरुको विश्वास घट्दै गएको छ । स्वास्थ्यमा त्यस्तै समस्या छ । एउटा एक्सरे गर्नुपर्दा भारत वा काठमाडौं धाउनुपर्छ । विशेषज्ञ डाक्टर जिल्लामा बस्ने झन् कुरै भएन । अनि किन गाउँमा बस्ने भन्ने जमात बढ्दै छ ।

हालसालैको एउटा अध्ययनका अनुसार काठमाडौंमा झन्डै ६० लाख मानिसको बसोबास रहेको छ । जनसंख्याको असमान वितरणले भविष्यमा ठूलो कठिनाइ उत्पन्न गर्नेछ । अर्कोतिर देशमा रोजगारी सिर्जना, औद्योगिक विकास, कृषि, पर्यटन, पशुपालनमा युवाको सहभागिता नबढाउने हो भने देशको व्यापार घाटाले चरम रुप लिने निश्चित छ । करिब ३० वर्षपहिले गाउँमै खसीबोका, बाख्रा, गाईभैंसी पाल्ने गरिन्थ्यो । घिउ जम्मा गरी नजिकको हाटबजारमा बिक्री गरेर आएको नगदले नून तथा लत्ताकपडा किनेर परिवारको दैनिकी रामै्र चल्ने गरेको थियो ।

आत्मनिर्भरताको अध्याय अब प्रायः समाप्तः भइसक्यो । पुरानो पुस्ताको अन्त्यसँगै जन्मस्थानप्रतिको आस्था कम हुँदै गएको छ ।

पहिले गाउँका दुई–चारजना मात्र भारततिर जाने गरेको भए पनि अहिले घरका धेरैजसो युवाहरु विदेशमा पसिना बगाउँदै छन् । उच्च शिक्षा हासिल गरेका दक्ष युवा तथा वैज्ञानिकहरु युरोप, अमेरिकातिर हानिदै छन् । कोही अस्टे«लिया र क्यानाडाका ग्रिनकार्ड होल्डर बनेर उतै भुले । देशको मेरुदण्ड ठानिएका ऊर्जावान् युवा र लगानी उतै गयो । दशबर्से युद्धले विदेश पलायन हुनुपर्ने बाध्यतालाई झनै बढाइदियो ।

केही प्रतिशत दलका कार्यकर्ता, शिक्षक, कर्मचारीबाहेक सबै युवा गाउँबाट विस्थापित हुन बाध्य छन् । देशलाई ११ खर्बको व्यापार घाटाले थिचेको छ । प्रतिव्यक्ति ऋण ३५ हजार पुगेको छ । विदेशमा पसिना बगाएर कमाएको धन स्वदेशमा सदुपयोग हुन नसक्दा सुविधाभोगी प्रवृत्ति र विलासिताका वस्तुमा खर्च हुँदै छ । अर्थात् पसिनाको कमाइ फेरि विदेशतिरै जाँदै छ । जनताले दुई–तीनवटा स्मार्ट फोन, ल्यापटप र टिभी राख्दैमा र गाडी चढ्दैमा देश सम्पन्न हुँदैन । जब यी सबै कुरा आफ्नै देशमा पसिना बगाएर आर्जेको धनले खरिद गर्न सकिन्छ अनि मात्र देश सम्पत्र हुन्छ । जनता सुखी हुन्छन् । परिवारमा शान्ति आउँछ ।

कर्णाली, अछाम क्षेत्रलगायत दूरदराजका पर्यटकीय महत्व कसैले बझ्न सकेन । नत्र अहिलेसम्म पनि पर्यटकीय महत्व बोकेको रारा तालसम्म पुग्नलाई यति धेरै कठिनाइ भोग्नुपर्दैनथ्यो । सरकार शहरलाई सभ्यताको मानक भनेर परिभाषित गर्छ र बजेटजति सबै शहर केन्द्रित हुन्छ अनि कसरी हाम्रा गाउँको विकास र उत्थान हुन्छ ? एकीकृत बसोबासयुक्त गाउँ निर्माण गरी स्थानीय उत्पादनलाई बढावा दिने आयआर्जनका सामान्य योजना सरकारसँग छैन । रेल र पानीजहाजका कार्यालय स्थापना हुँदैमा गाउँको विकास र जीवनस्तरमा सुधार हुँदैन । सोच्ने कसले ?

नेपाल बुझेको अर्थशास्त्रीको हातमा योजना आयोग कहिले पुग्ने ? ऊर्जाशील र दक्ष ८० लाख युवा विदेश पलायन भएपछि गाउँ रित्तिने नै भए । अहिलेको महामारीमा पनि ज्यानको पर्वाह नगरी सुदूरपश्चिमलगायतका प्रदेशबाट दिनहुँ परिवारसहित युवाहरुको लर्को भारतलगायतका देशतिर लागेको सजिलै देख्न सकिन्छ । घरमा एक्ला वृद्ध आमाबुबा वृद्ध भत्ता मात्र बुझेर खुशी होलान् र ? एक परिवार एक रोजगार भन्ने नारा पनि सुनियो तर कार्यान्वयन भएको पाइएन । सुदूरपश्चिम सरकारले जागिर गुमाएर स्वदेश फर्किएका ५ हजारजनालाई स्वरोजगार बनाउने उद्देश्यले ल्याएको कृषि अनुदान कार्यक्रममा ८० हजारले निवेदन दिँदा कसरी छान्ने भनेर सरकार नै अलमलमा परेको देखिन्छ । यसबाट सुदूरपश्चिम प्रदेशमा मात्रै युवा बेरोजगारको संख्या प्रस्ट झल्कन्छ ।

लाखौं वृद्ध, अपांग, उत्पीडित जनतालाई भत्ता बढाएर कसैले गर्न नसकेको काम गरेको प्रचार गर्ने सरकारले अबको २० वर्षपछि करोडौं मानिसलाई भत्ता बाँड्नुपर्दा बजेट कताबाट ल्याउँछ ? रेमिट्यान्स र वैदेशिक ऋणले मात्र देश कहिलेसम्म चल्न सक्छ ? केही मात्रामा गाउँमा जाने गरेको बजेट पनि सांसद कोष र उपभोक्ता समितिमा बस्नेहरुको मिलेमतोमा अनुत्पादक क्षेत्रमा लगानी भई बर्सेनि खेर जाने गरेको वा सर्वसम्मतिमा मिलेर टाठाबाठाले खानेबाहेक उपलब्धि खासै देखिँदैन ।

आफूखुशी कसैले गाउँगाउँमा डोजर चलाएर बाटो पु¥याउनुलाई विकास मान्ने हो भने त्यो पनि दिगो हुन सकेको छैन । कुनै सर्वेक्षण, वातावरणीय प्रभाव अध्ययनविना खनिएका गाउँका सडकहरुले विकासभन्दा विनाश बढी निम्त्याएको देखिन्छ । बाटो निर्माण भएका ठाउँमा पानीका मूल सुक्ने, पहिरो जानेदेखि लिएर प्रकृति दोहन तीव्र हुँदै छ । यसले वातावरणमा नकारात्मक असर पु¥याएकै कारण खेतीपाती, फलफूलजस्ता उत्पादन घट्नुका साथै जनस्वास्थ्यमा पनि प्रतिकूल असर पर्दै छ । यी कुरा अहिलेलाई सामान्य देखिए पनि भविष्यमा गम्भीर परिणाम निम्त्याउने पक्का छ ।

विकासका आयोजना बनून् तर वातावरणीय सन्तुलन बिगार्ने र केही व्यक्तिलाई आर्थिक लाभ पुग्ने विकासभन्दा पनि आममान्छेको जीवनस्तर उकास्ने तथा राष्ट्रिय आयमा टेवा पुग्ने किसिमका विकास योजना तयार होऊन् भन्ने मात्र सरोकार हो । केही पहुँचवालाले मात्र राज्यका सुविधा उपभोग गर्ने पुरानो परम्परा तोड्न सके निमुखा जनताको लागि आत्मनिर्भर हुने अभिलासा पूरा हुन सकेमात्र परिवर्तनको महसुस हुनेछ । सुदूर गाउँको विकास हुनु नै समग्रमा देशको विकास हुनु हो भन्ने सोच हाम्रो नेतृत्वमा अझै विकास हुन सकेको छैन । यथार्थ नबुझी, आवश्यकता पहिचान नगरीकन आसेपासेहरुले सिफारिस गरेर बाँडिएका विकास आयोजनाले उत्पीडित जनतालाई भन्दा केही टाठाबाठालाई मात्रै फाइदा पुग्दै आएको छ ।

कृषि क्रान्तिका कुरा धेरै आए । व्यावसायिक कृषिका लागि पकेट क्षेत्र पहिचान गरेर सहुलियत ऋण र मलखादको समयमै व्यवस्था गर्ने प्रतिबद्धता पनि आइरहन्छन् तर चाहिएको बेला किसानले बीउ, मलखाद तथा कृषि उपकरण पाउनबाट सधैँ वञ्चित छन् । यसपालि पनि त्यस्तै भएको छ । किसानले धान काटेर थन्क्याइसक्दा पनि मल पाउन सकेका छैनन् । उखु किसानहरुको बिचल्ली भएको छ । अलिकति भएको जग्गामा पनि सिंचाइको व्यवस्था पुग्न सकेको छैन । अनि कर्णाली र दुर्गमका गाउँबाट युवाहरु विदेश पलायन नभई धरै छैन । एकातिर देश विकासमा लाग्नुपर्ने युवा विदेश पलायन, अर्कोतिर परिवारमा विखण्डन । यो तीतो यथार्थ कर्णालीको कथा अनि सुदूरको व्यथा बनेर सधैँ पोलिरहेछ । यस्तै स्थितिले समृद्ध नेपालको सपना साकार होला ?