शताब्दी पुरुषलाई मातृभाषाको चिन्ता


नेपाल समाचारपत्र, ललितपुर

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा बोलिने भाषाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूमा आबद्ध पत्रकारहरुसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा जोशीले भाषा संरक्षणमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

देशको पहिचानसँग सम्बन्धित भाषा बचाउनका लागि राष्ट्र भाषालाई अनिवार्यरुपमा संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो । ‘पाली भाषा र संस्कृत भाषा अहिले मृततुल्य छ । यसको अर्थ करिब मरिसकेको भन्ने हो ।’ –उहाँले भन्नुभयो। त्यस्तै, जोशीले आआफ्ना घरमा नानीहरुसँग मातृभाषाबाटै कुराकानी गर्न आग्रह पनि गर्नुभयो ।

आफ्नै रहनसहन, चाड तथा जात्रापर्वबारे सन्ततीलाई बुझाउन सके मात्र नेपालको मौलिक पहिचान जीवित रहने उहाँले बताउनुभयो ।

२०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २३ प्रकारका भाषाहरु छन् । सोही तथ्यांकमा ३५ प्रतिशत नेपाल भाषालाई मातृभाषा बोल्न नआउने उल्लेख गरिएको छ । यसको अर्थ राजधानीजस्तो सुुगम ठाउँमा बसोबास गर्ने सचेत रैथानेले पनि मातृभाषालाई छोड्दै गएको देखिन्छ । एक त फेसनका रुपमा आ–आफ्ना मातृभाषालाई बिर्सिएर दोस्रो र तेस्रो भाषा अँगालेको हुनाले नेपालमा भाषिक विविधतामा संकट पैदा भएको देखिन्छ ।

२०७२ मा जारी भएको नेपालको संविधानको प्रस्तावनामै बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक देश उल्लेख छ । तर संविधानको भाग १ खण्ड ७ (१) मा सरकारी कामकाजको भाषाका रुपमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा मात्र उल्लेख छ । खण्ड ७ (२) मा प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

यति भइरहँदा स्थानीय सरकारअन्तर्गत काठमाडौं महानगरले भाषा संरक्षणको सवालमा हालै गरेको पहलकदमी स्वागतयोग्य भएको सरोकारवालाहरु बताउँछन । संघीय लोकतान्त्रिक गणतन्त्रमा ३ तहका सरकारमध्ये काठमाडौं महानगरपालिकाले भाषा क्षेत्रमा उदाहरणीय काम थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार प्रयोग गरी भाषा, संस्कृति र ललितकला संरक्षण र विकासमा प्रयास थालेको हो । स्थानीय पाठ्यक्रम तयार गरी सम्पदा, संस्कृति तथा स्थानीय भाषालाई विद्यायलस्तरमा पढाउने प्रयास भएको देखिन्छ । यसको प्रभावकारी कार्यान्वयन पक्ष भने हेर्नै बाँकी छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूको कोडिभ–१९ सचेतना कमिटीले विभिन्न क्षेत्रका विज्ञसँग केही समययतादेखि अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । सोही क्रममा शताब्दी पुरुष सत्यमोहन जोशीसँग २५औं कार्यक्रम गरेको हो । दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले सञ्चालन गरेको कार्यक्रमलाई गोरखापत्र दैनिकमा आबद्ध पत्रकार प्रजित शाक्यले संयोजक गर्नुभएको थियो ।