पहिचानका आधारमा परिचयपत्रको माग


वीरबहादुर बम, मुग

मुगुमा बेपत्ता तथा द्वन्द्व कालमा मृत्यु भएका व्यक्तिको छानबिन गर्न बेपत्ता आयोग नेपालको टोली मुगु पुग्दा स्थानीयबासीले पहिचानका आधारमा राष्ट्रिय परिचयपत्र दिनुपर्ने माग राखेका छन् । आयोगको टोलीले आइतबार सदरमुकाम गमगढी बजारमा राखेको अन्तरक्रिया कार्यक्रममा स्थानीयले युक्त माग राखेका हुन् ।
अन्तरक्रियमा स्थानीय तहका जनप्रतिनिध, समन्वय प्रमुख, राजनीतिक दलका नेता, सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारी, द्वन्द्वपीडितका आफन्तसँग आयोगका सदस्य सुनीलरञ्जन सिंहको नेतृत्वमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

अन्तरक्रियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुगु जिल्ला अध्यक्ष सुकवीर बुढाले सम्बन्धित स्थानीय तहका वडाध्यक्षमार्फत यो द्वन्द्वपीडित हो भनेर सिफारिस नभएसम्म परिचयपत्र वितरण नगर्न माग गर्नुभएको थियो । त्यस्तै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीको पहिचानको आधारमा मात्र परिचयपत्र वितरण गरिनुपर्ने माग थियो ।

‘अहिले हामी परिचयपत्र वितरण गर्दनौं । सम्बन्धित व्यक्ति द्वन्द्वकालमा पीडित भएको हो कि होइन स्थलगत निरीक्षण गरेर मात्र परिचयपत्र वितरण गर्नेछौं’, आयोगका सदस्य सिंहले भन्नुभयो– ‘तपाईंहरूले भनेझैं पहिचानको आधारमा मात्र परिचयपत्र वितरण हुन्छ ।’ उहाँले मुगुमा २५ जना बेपत्ता रहेको आयोगको तथ्यांकमा रहेको पनि जानकारी गराउनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भने आफूहरुले द्वन्द्वमा धीरेन्द्र मल्ल र हीरा नेपालीले मात्र नाम सुन्दा आयोगको तथ्यांकमा २५ जना बेपत्ता कसरी भए भन्ने प्रश्न गरेका थिए ।

आयोगको तथ्यांकभन्दा स्थलगतरूपमा सत्य–तथ्य छानबिन गर्दा यो संख्यामा फरक पर्न सक्ने जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताउनुभयो । द्वन्द्वपीडितहरु नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले यो समयमा टोली कर्णालीमा पुगेको आयोगका सदस्य सिंहले बताउनुभएकोे छ ।

उहाँले आयोगको कार्य क्षेत्र भनेकै छानबिन तथा अनुसन्धान भएकाले यसको मूल लक्ष्य तथा उद्देश्य भविश्यमा द्वन्द्व दोहोरिन नदिने सिंहले बताए । उहाँका अनुसार साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको बताइएको छ ।