- पेशल आचार्य
हाम्रो मुलुक कहिले देशभित्रको चाल र कहिले विदेशको चालमा गोडा चाल्दै अघि बढिरहेको जस्तो देखिन्छ । संसद्भित्र र बाहिर त्यत्रो राष्ट्रिय एकता र हल्लाखल्ला गर्दै हामीले ल्याएको हाम्रो देशको चुच्चे नक्साको यतिखेर कन्तबिजोग भएको अवस्था छ । खासगरी भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणयताका दिनमा सो नक्साको ओज बोकेका नेताहरुसमेत निन्याउराजस्ता देखिएका छन् । जुन परिघटनाहरु अकारण भए होलान् भनेर जनता मान्नै तयार छैनन् ।
यतिखेर सत्ताको तास डबल नेकपाका पहिलो अध्यक्ष तथा प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली मजाले फिसेर बाँडिरहेका छन् । मानौं राजनीति यतिखेर ‘पञ्चकमा खेलिने फँलास खेल’ भएको छ भने पुष्पकमल दाहाल उर्फ प्रचण्ड दोस्रा खेलाडी र प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाचाहिँ तेस्रा खेलाडीका रुपमा देखिएका छन् । दृश्य, अदृश्यरुपमा कहिले मुलुककै राष्ट्रपति त कहिले दुवै छिमेकी देशका ‘महामहिम राजदूतहरु’ पनि सूत्रधारका रुपमा नदेखिएका चाहिँ होइनन् ।
दक्षिणतिरबाट भारतीय आँखाले अमेरिका एमसीसीको पासो फ्याँकिरहेको छ भने उत्तरतिरबाट चीन बीआरआईले च्याँखे थापिरहेको छ । यी दुवै मुखिया मुलुकका तुलनामा हाम्रो देशचाहिँ ‘पुतली नचाउने व्यक्तिका हातको पुतली’ भई कहिले हिन्दीको ‘भाँगडा नाच’ नाचिरहेको छ भने कहिले उत्तरतिरको ‘ग्याङ नाम स्टायल’ बोलमा राजनीतिक ताण्डव प्रदर्शन गरिरहेको छ ।
समाजमा नबिथोलिएका कुनै पनि क्षेत्रहरु छैनन् । यो वा त्यो बहानामा फेरि हामी राजनीतिक कोर्स करेक्सनकै डिलनेर पुगिसकेको भान हुन्छ । देशैभरि राजावादीहरु सल्बलाइरहेका छन् । हरेक दिनजसो नेपालका प्रमुख शहरहरुमा राजावादीहरुको मोटरसाइकल ¥यालीको लहर लामो भैरहेको देखिन्छ । सत्तारुढ दल नेकपामा दुई बूढाहरुको असैद्धान्तिक रोइलोले सीमाको पराकाष्ठा नै नाघेको अवस्था छ । तर मेहनतकश जनताका दृष्टिमा चाहिँ यी दुवै बूढाहरु क्रमशः घाँडा साबित हुँदै गएका छन् । जे–जस्तो कार्यशैली र हर्कत देखाए पनि जनताले अब आउने चुनाव कुर्नुको विकल्प छैन । ओलीका पानीजहाज, रेल, मेट्रो र घरघरमा ग्यास सबै ‘…को न्यानो’ झैँ भैसके । अब मुस्किलले यो सरकारले दुईवटा बजेट मात्र ल्याउन सक्छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट नै उसका लागि अन्तिम बजेट हुनेछ । सोभन्दा पछिल्लो २०७९÷०८० को बजेट त चुनावी बजेट नै हुनेछ । नेपालमा जनताले यो सरकारलाई अकल्पनीय बहुमत दिएका थिए तर नेताहरुले यो वा त्यो बहानामा त्यसलाई ‘बाँदरको हातको नरिवल’ नै बनाइछाडे ।
सरकारसँग कोही खुशी छैनन् । कर्मचारी तलबभत्ता नबढेको र उल्टै खाइपाइ आएको भत्ताहरुसमेत कटौती भएकामा रुष्ट छन् । किसानहरु खेतीपातीका बेला समयमा मलबीउ नपाएरै मन कुँड्याएर बसेका थिए । कोभिडका कारण देश देशावरबाट घर–देशमा फिर्ता आएकाहरु काम, रोजगार र योजना नपाएर ‘तीन त्रिलोक चौध भुवन’ देख्ने गरी नै तिल्मिलाएका छन् । संसारसँगै हाम्रो देशमा पनि कोरोना महामारीको ग्राफ अझै डरलाग्दो ढङ्गले उक्लिरहेको छ ।
मानिसहरु मर्नका लागि कुनै कारण नै नचाहिने अवस्थाको प्रत्याभूति यो गणतन्त्रात्मक व्यवस्थाले नै स्थापित गरेको देखियो । हत्या, हिंसा र बलात्कारहरु दैनिक जीवनका अङ्गहरुझैँ भैसके । हिजो न्यायप्रेमी जनसमुदायहरु निर्मला हत्या तथा बलात्कार काण्डको न्याय माग्न सडकमा उत्रिएको थियो । अहिले ६ वर्षकी बच्चीको अपहरण, बलात्कार र हत्याको रापले तराईको बर्दिबास तातेको छ । पीडितका पक्षमा निकालिएको जुलुसले हत्याराको घरलाई जलाएर सखाप पार्ने काम गरेको छ भने हत्याराले आरोपसमेत स्वीकारिसकेको अवस्था छ । सो बीचमा भएका आन्दोलनमा दुईजनाले अनाहकमा ज्यान गुमाइसकेका छन् भने अवस्था अझै सेलाइसकेको छैन ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा देखादेखी माफियाहरु सल्बलाउन थालिसकेका छन् । अहिले राष्ट्रिय पाठ्यक्रम प्रारुप– २०७६ अन्तर्गत कक्षा ११ मा फेरिएको नयाँ पाठ्यक्रमअनुसारको कोर्सको विपक्षमा सम्मानित सर्वोच्च अदालतमा रिट परेको र सो रिट सुनावाइकै अवस्थामा छ, जसले देशैभरिका करिब ३३ हजार विद्यालयहरुमा नयाँ कि पुरानै पाठ्यक्रम पढाउने भन्ने उल्झन देखिन्छ । देश, काल र परिस्थिति नै एक प्रकारले अन्योलग्रत आएको देखिन्छ । कुनै पनि क्षेत्रमा स्थापित नियम, कानुन, विधि र संहिताहरुले काम गरिरहेका छैनन् । मुलुकमा एक प्रकारको अराजकताले क्रमशः फणा फलाउँदै गएको हो कि भन्ने भान परेको छ ।
देशमात्र पो यस्तो भएको हो कि भनेर विश्वलाई चिहाउन खोज्यो, विश्व पनि सोही शैलीमा अन्योलको पिङ खेलिरहेको भेउ पाइन्छ । हालै अमेरिकाको ४६ औं राष्ट्रपतिको चुनाव सम्पन्न भयो । अतिवादी मानिएका जोकरजस्ता उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव हारे र केही सम्यक शैलीका र भोलिका आबाका केन्द्रविन्दु मानिएका जोन वाइडेनले जिते । रमाइलो त के भैदियो भने, अमेरिकी चुनावको इतिहासमा पहिलोपल्ट हारेका राष्ट्रपतिले चुनावी परिणामलाई अस्वीकार गरी वक्तव्यबाजी गरेको देखियो । अदालतमै मुद्दासम्म हाल्ने कुरा आएका थिए । खैर अहिले यी हरफहरु लेख्दासम्म कम्तीमा ती कुरा पुनः सुन्नमा आएका छैनन् ।
२६ नोभेम्बरमा विश्व फुटबल खेलका लिभिङ लिजेन्ड तथा पेलेपछिका विश्वकै सर्वाधिक चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण असामयिक मृत्यु भयो । पूरै विश्व यतिखेर शोकमग्न छ । अर्का फुटबलका महारथी पेलेले शोक वक्तव्य जारी गर्दै भने– ‘तिमीले पृथ्वीमा राम्रो फुटबल खेल्यौ । जीवन र मृत्यु संसारका उपहार हुन् । म पनि ढिलोचाँडो त्यो उपहार स्वीकारेर तिमीसामु आउने नै छु ।
हामी फेरि मिलेर स्वर्गमा फुटबल खेलौंला ।’ सोच र गिदी भएका मानिसले यसरी समवेदनाका सुसन्देशहरु पारिवारिक सदस्य र पूरै विश्वलाई दिने हो तर हावादारी ट्रम्पले २६ नोभेम्बरमै गरेको एक ट्विटमा भनेछन्– ‘संसार प्रसिद्ध संगीतकार डिएगो म्याराडोना तिमीले सन् १९८० ताका गाएका विश्वप्रसिद्ध गीतहरु म त्यो बेला सुनेर मुग्ध हुन्थे । तिम्रो मृत्युले संसारले एउटा महान् संगीतकार गुमाएको छ । मृत आत्माले शान्ति पाओस् । रेस्ट इन पिस ।’ पूरै विश्वलाई हँसाउने गरी आएको यस्तो समवेदनाका सन्दर्भमा नानानौरङ्ग कमेन्टहरु आइरहेका छन् । संसारको सर्वशक्तिमान् मानिएको देशको राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन व्यक्तिको आधिकारिक नामबाट गरिएको ट्विटमा यस्तो भद्दा गल्ती हुन्छ भने हामीले कसलाई विश्वास गर्ने ।
अर्को सन्दर्भ हाम्रो देशसँगै जोडिएर आएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको जारी वार्षिक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपाललाई एसिया महादेशकै बढी भ्रष्टाचार हुने देशको नम्बर वानमा राखेर हाम्रा बहालवाला प्रधानमन्त्री केपी ओलीको नामै तोक्ने काम गरेको छ । यो समाचारसमेत २६ नोभेम्बरका लागि भाइरल भैरहेको छ । ‘म आफू भ्रष्टाचार गर्दिन र अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न, भ्रष्टाचारीप्रति शून्य सहनशीलता अपनाउँछु’ भन्ने देशकै प्रमुख कार्यकारीलाई टिआईले मुखमै कालो पोतिने गरी सार्वजनिक भएको सो रिपोर्टले सम्पूर्ण नेपालीहरुको नूर फेरि अर्कोपल्ट गिरेको भान भैरहेको छ ।
बाहिरबाट दह्रो सरकारको आवरणमा देखिएको नेकपाको सरकारलाई विभिन्न मुद्दा र लाञ्छनाहरुले लाञ्छित गरिरहेका बेलामा उसकै पार्टीभित्रबाट देखा परेको सिद्धान्तविहीन रन्थमोल र दुनियाँ हँसाउने विचित्रको खेलले कहिले के खिचडी पाकेको, कहिले के सपनाहरुको आरोहण भएको भनिने अवस्था देखियो । यतिखेर ओली सत्ताको तास बेहिसाबसँग फिटिरहेका छन् ।
उनी कहिले प्रचण्डलाई पत्र युद्धमार्फत आफूलाई लगाइएका आरोपहरु फिर्ता लिनका लागि दबाब दिइरहेका छन् भने कहिले एमसीसी पारित गर्नका लागि निम्छरा प्रतिपक्षका नेता शेरबहादुर देउवालाई बालुवाटारमा भेटवार्ताका लागि बोलाएर ८ वटा मन्त्रालय दिने सर्तमा सत्ता साझेदारीको पासा फ्याँकिरहेका छन् । आफ्ना द्वितीय अध्यक्षलाई चाहिँ परेको दाउ पनि घाप्न लगाएर उनी विरोधी कित्ताका नेतालाई सत्ताको साइट सिन गराइरहेका छन् । यो चालले नेपालको राजनीति सकिनेतर्फ द्रुतत्तर गतिमा छलाङ लगाइरहेको विश्लेषण जानकारहरुले गरिरहेका छन् ।
खासमा हामीले जुन कुरा सोचेर राजतन्त्र आफल्यौं र संघीय शासन व्यवस्थाको शुरूआत ग¥यौं त्यो दिन यही र यस्तै दिनहरु आउनेछन् भनेको जानेका भए बाइगड कोही पनि नेपालीहरु सडकमा उत्रिने थिएनन् । कोरोना कहरमा राजधानी काठमाडौँमा अवस्थित निजी अस्पतालहरुले पीसीआर परीक्षणलगायत कोरोनाका बेरामीहरुसँग असुलउपर गरेको अकूत पैसा र काठमाडौँ महानगरपालिकाले गरिब, निमुखा र खान नपाउने मानिसहरुप्रति गरेको व्यवहार देख्दा हिन्दीको सटिक उखान ‘खोदा पहाड निक्ला चुहा’ भन्ने मार्मिक आहानलाई सम्झिन बाध्य भए नेपाली जनता ।
समाजवाद उन्मुख सरकारका योग्य मन्त्रीहरुले गरेका काम कार्यबाहीहरु, भनेका वाणीहरु र जनतालाई महामारीमा गरिएका बेवास्ताहरुलाई मिहिन विश्लेषण गर्दा हात लाग्यो शून्य भएको स्थिति देखिन्छ । आवरणमा कम्युनिस्ट तर व्यवहारमा कमाउनिस्ट भएकाहरुको राजनीतिक दर्शनको मेखाला सबै उत्रिसकेको छ । यस्तो अवस्थामा पनि प्रतिपक्षले असन्तुष्टिको राँको बाल्नुपर्नेमा ऊसमेत सत्ताका विभिन्न राजनीतिक नियुक्तिमा भागवण्डा खोजेर भ्रष्टाचारमा लट्पटिएको मुठीको माखो भएपछि जनताले आफ्नो आस्था, विचार र दर्शन झुन्ड्याउने कुनै पनि भित्ता र किलाहरु नपाउँदा रहेछन् ।
राजनेता हुन सक्ने हुत्ती, बुद्धि र बर्कत भएका र जनयुद्ध कालमा ठूलो आशा र भरोसाका केन्द्रविन्दु मानिने प्रचण्डको खुला राजनीतिमा पदार्पण भएपछि एकपछि अर्को गर्दै स्खलित हुने क्रम यद्यपि जारी छ । भाइभतिजावाद, छोरीबुहारी दर्शन, माफियासँगको कुम जोडाजोड, अवैध तरिकाले अर्बाैं–खर्बाैं कुम्ल्याएका ठेकेदारहरु, बिचौलियाहरु र डनहरुका हकहितमा काम गरेको देखेर जनताले आशा गर्ने ठाउँसमेत अब रहेन ।
यी सबै प्रकरणहरुका अलावा अब नेपालमा क्रियाशील सबै प्रकारका राजनीतिक दलहरुका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले बूढा, सत्तरी नाघेका र सत्ताका लागि मात्र रोइलो गरिरहने नेताहरुलाई बाइ इज्जत सत्ताबाट ओरालेर आफूले सत्ताको चाबी अझै केही वर्ष नलिने हो भने नेपाली राजनीति र मुलुक ओरालो भीरमा ब्रेक फेल भएको गाडीझैँ अनियन्त्रित भएर दुर्घटना नहोला भन्न सकिन्न । सबै पार्टीका नेताहरुले अब त्यो बुद्धि नपु¥याउने हो भने नेपालीले त्यो दिन देख्न पनि अब ढिलो छैन ।
प्रतिक्रिया