गणितज्ञ र सामाजिक अभियन्ता राममान श्रेष्ठ


प्रा.डा. एकारत्न आचार्य

पारिवारिक जानकारीअनुसार वि.सं. १९९६ पौष १७ गते यस धर्तीमा पाइला टेकेका राममान श्रेष्ठ अहिले गणितका प्राध्यापक राममान श्रेष्ठको रुपमा चर्चित हुनुहुन्छ । उहाँ गणित विषयमा पीएचडी गर्ने पहिलो नेपाली गणितज्ञ पनि हुनुहुन्छ । दुर्भाग्य भन्नुपर्छ, उहाँको पार्थिव शरीर अहिले हामीबीच छैन । उहाँले वि.सं. २०७६ देखि शारीरिक दुखाइलगायतका औषधि खाइरहनुभएको देखिन्थ्यो । आफ्ना दुःख कहिल्यै नदेखाउने सदावहार हँसिलो देखिने प्राध्यापक श्रेष्ठ कहिलेकाहीँ एक्लोपन महसुस गर्न थाल्नुभएको जस्तो लाग्थ्यो ।

२०७६ कार्तिक २८ गतेको कुरा हो, कहिल्यै दुःख महसुस नगरेको र आफू त्यसरी कहिल्यै नरोएको भए तापनि अहिले औषधि खाँदाखाँदै पनि शारीरिक कमजोरी र पीडाले सताउँदा बेस्सरी रोएको र छोरा नै आफ्नो अभिभावक भएकोले उनीसित रुँदै आफ्नो कुरा राखेको बताउनुहुन्थ्यो । निकै सरल, मिठासपूर्ण, हक्की स्वभाव, खरो बोलीचाली तथा आफ्नो विषयवस्तुमा खरो उत्रने दरो पकड भएका हामी सबैका गुरु तथा गणितज्ञलाई फेरि भेट्ने भन्दाभन्दै कोरोना कहर शुरु भइहाल्यो र जान पाइएन । यसले मलाई लाग्छ, उहाँका सबै शुभचिन्तकलाई मर्माहत बनाएको छ । लकडाउन तथा बन्दाबन्दीमा भेट्ने कुरो भएन । संयोग भनौं कि दुर्भाग्य भनौं, आदरणीय गुरु राममान हामीबाट सदाका लागि बिदा हुने दिन भनौं वा त्यसबीच हामी पुग्न सकेनौं । किनकि हामी काठमाडौबाट बाहिर गैसकेको अवस्था थियो ।

असौज ३० गते करिब १२ बजेतिर आत्मीय साथी रुद्रहरि ज्ञवालीको फेसबुकबाट उहाँको महाप्रस्थानबारे खबर पाउँदा अत्यन्तै मर्माहत भएँ, अक्क न बक्क भएँ र मन थाम्दै रुद्रहरि सरलाई फोन गरें । यसै बीच रविनमानजी लाई फोन गरें तर फोन उठेन । म अझ स्तब्ध भएँ । त्यसै बीच नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत उपाध्यायले मलाई फोन गरेर भन्नुभयो– ‘लौन बुझ्नोस् त, राममान सरको निधन भएको सुनें । के साँच्चै हो ?’ म झन् स्तब्ध भएँ । अहिले ४५ औँ दिनको पुण्य तिथिको अवसरमा आदरणीय गुरुप्रति श्रद्धासुमन र शोकाकूल परिवार, इष्टमित्र सबैमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रकृति (भगवान्) सँग प्रार्थना गर्दछु ।

गुरु प्रा. राममान श्रेष्ठले एस.एल.सी. गरी विद्यालय तहसम्मको शिक्षा वि.सं. २०११ मा दरबार हाइस्कुलबाट पूरा गर्नुभएको थियो भने प्रमाण पत्र तह (आईएस्सी) को अध्ययन वि.सं. २०१३ मा विज्ञान मूल विषयको रुपमा लिई त्रिचन्द्र कलेजबाट गर्नुभएको थियो । त्यस्तै स्नातक तह (बीएस्सी) को अध्ययन वि.सं. २०१५ मा त्रिचन्द्र कलेजबाट गर्नुभएको थियो । स्नातकोत्तर तह (एमएस्सी)को अध्ययन वि.सं. २०१८ सालमा त्रिभुवन विश्वविद्यालयबाटै गणित मूल विषय लिई त्रिविको गणितको प्रथम ब्याचको विद्यार्थीको रुपमा रहेर पूरा गर्नुभएको थियो । त्यस समयमा त्रिभुवन विश्वविद्यालयले पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर पठनपाठन गराउने चलन थियो ।

उहाँले विद्यावारिधिको उपाधि तथा अध्ययन वि.सं. २०२२ मा वानारस विश्व हिन्दू विश्वविद्यालय, भारतबाट इन्टिग्रल ट्रान्स्फर्म विधाको स्टडी अफ जेनेरलाइज्ड ट्रान्स्फर्म शीर्षकमा सम्पन्न गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयको प्रथम स्थायी शिक्षकको रुपमा पनि उहाँले इतिहास बनाउनुभएको पाइन्छ । तत्कालीन अवस्थामा त्रिभुवन विश्वविद्यालयका धेरैजसो कार्यक्रमहरुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न भएका श्रेष्ठले धेरै पदहरुमा नियुक्ति नलिए तापनि काम भने निरन्तर गरेको पाइन्छ ।

नेपाली लिखतसम्बन्धी जानकारी तथा स्मरणः नेपाल र नेपालीको खातिर काम गर्नुपर्छ भन्ने एक दार्शनिक सोचका धनी आदरणीय गुरुका संग्रहमा नेपाल सन्दर्भका धेरै लिखतहरु पाउन सकिन्छ । त्यसका प्रबस्तै प्रमाणहरु उहाँ देखाइरहनुहुन्थ्यो । उहाँको पुरानो घर ओमबहालमा पृथ्वीनारायण शाहलगायत करिब २ सय वर्षसम्मका पुराना कागजात तथा लिखतहरु रहेको स्मरण गर्दै गर्नुहुन्थ्यो । आदरणीय गुरु प्रा.डा. राममान श्रेष्ठले आफूले एस.एल.सी. दिने समयमा बाबु ७७ वर्षको उमेरमा बितेको सम्झनुहुन्थ्यो भने आमाहरु तीनैजना करिब सय वर्षभन्दा बढी नै उमेर पुगेपछि मात्र बितेको सम्झनुहुन्थ्यो ।

श्राद्ध गर्दा धेरै नाम र थरहरु सम्झने गरेको उहाँले बताउनुहुन्थ्यो । नेपाली सनातनी परम्परामा निकै दख्खल राख्नुहुने गणितज्ञ तथा सामाजिक अभियन्ता राममान सरले असाध्यै धेरै गोष्ठी, सभा, सम्मेलन गरेर वंशावली लेख्ने काम भएको पाइन्छ भनेर बताउनुहुन्थ्यो । तर पनि ५ सय वर्षभन्दा अगाडिको कुरा बताउन सबैलाई अप्ठ्यारो छ । त्यसैले श्रेष्ठ थर पनि यति नै वर्ष पहिले भएको भन्न सकिँदैन भन्ने उहाँको ठम्याइ रहेको पाइन्थ्यो ।

यो दुःखद क्षणमा अर्को दुःखद क्षणको स्मरण गर्दा आँखाबाट आँसु झर्छन् । धेरै भएको छैन उहाँकी जीवन साथी राधा श्रेष्ठ (हाम्री गुरुआमा) को एक–डेढ वर्षअघि मात्र स्वर्गवास भएको थियो भने केही महिनाअघि उहाँकी छोरीको पनि दुःखद निधन भएको थियो । यो पीडाले घरपरिवारमा ठूलो वज्रपात परेको छ । म स्तब्ध छु, मेरो बाबाको पनि प्रोस्टेटको समस्या थियो र गुरुले मेरो बाबाको बारेमा पनि सोधिरहनुहुन्थ्यो, दैवसंयोग २०७६ जेठ १७ गते मेरो बाबा पनि ९६ वर्षको उमेरमा जानुभयो ।

सरसँग मैले २०४९ तिर स्नातकोत्तरमा एक विधार्थीको रुपमा अध्ययन गर्ने मौका पाएको थिएँ भने पछि अध्यापनको क्रममा काठमाडौँमा आएपछि सरसँगको उठबस बढ्दै गयो । गणित केन्द्रमा सचिवको रुपमा बसेर काम गर्दा कम्तीमा महिनाको एकपटक हाम्रो बैठक बस्नुपर्ने हुन्थ्यो र सरको घर आउजाउ भैरहन्थ्यो । गणितका अलावा समाजका कुराकानी पनि हुन्थे । पुराना लिखतहरु, कागजपत्र, नेपालमा चलेका पुराना अंकसम्बन्धी पनि कुराहरु हुन्थे, लोपोन्मुख नेपाली अंक, लिपि, भाषा, धर्म, सस्कृतिलगायतका विविध बिषयमा कुरा हुन्थे ।

अमृत विज्ञान (अस्कल) क्याम्पसबाट नै उहाँले वि.सं. २०१८ देखि प्राध्यापन शुरु गर्नुभएको बताउनु हुन्थ्यो । त्यस समयमा अस्कल क्याम्पसले पटना विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो । त्यसपछि उहाँले त्रिभुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागमा नै प्राध्यापन गर्नुभएको थियो । साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान तत्कालीन रोनास्ट र अहिलेको नास्टको शुरुको ऐन कानुन बनाउँदा पनि संलग्न हुनुभएको र त्यस बेलादेखि वा स्थापनाकालदेखि नै शुरुमा नेपाल गणित समाजको संस्थापक पनि भएकोले नेपाल गणित समाजको अध्यक्षकै हैसियतले पदेन सदस्यकै रुपमा वि.सं. २०३५÷०३६ देखि नै प्रवेश गरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानमा अहिलेसम्म प्राज्ञको रुपमा रही काम गरेको लामो अनुभव थियो उहाँसँग । गणितमा नवीन प्रविधि र ज्ञानको प्रयोग र विस्तारमा विशेष चासो राख्नुहुने भएकोले गणितका हरेकजसो कार्यक्रममा उहाँको संलग्नता रहेको पाइन्थ्यो ।

सरकारी कोटामा विदेश नगएको र त्रि.वि.को रेक्टर हुँदाको बखत सांस्कृतिक टोलीको नेतृत्व गरी रुसमा गएको सम्झनुहुन्थ्यो । जर्मनीको हमबोल्टमा नेपालबाट पहिलोपटक आफूले फेलोसिप पाएको बताउनुहुन्थ्यो । त्यस्ता कार्यक्रममा अरु प्रशस्तै नेपालीलाई पठाउन उहाँले भूमिका खेलेको पाइन्छ । अमेरिका, जर्मनी र फ्रान्सजस्ता देशमा राजदूतको अवसर पाउँदा पनि स्वीकार्नुभएको थिएन । प्रा. राममान श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको रेक्टर भएकै बखतमा गणित तथा तथ्यांकशास्त्रको भवन बनेको थियो । सो भवन बनेपछिमात्र गणितका विद्यार्थीले आफ्नो भवनमा बसेर अध्ययन गर्न पाएका छन् । नेपालमा गणित विषयमा ५० वर्ष नाघेका गुरुहरु खोजी–खोजी वि.सं. २०६९ बाट गुरु सम्मानको परम्परा बसाल्ने काममा पनि उहाँ नै अग्र पंक्तिमा हुनुहुन्थ्यो ।

विकासका स्वप्नद्रष्टा एवं नेपालमा गणितमा पीएचडी गर्ने पहिलो नेपाली, गणितका गुरु प्रा.डा. राममान श्रेष्ठले गणित विज्ञान तथा गणित शिक्षाको क्षेत्रमा आधुनिकीकरण, मानवीयकरण र सामाजिकीकरणमा पु¥याउनुभएको योगदानको हामी सबैले उचित सम्मान गर्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।