राष्ट्रिय पुँजीपति र उद्योगलाई जोगाउनु जरुरी : प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक विकासलाई अगाडि बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।

उहाँले अवको चुनौतीपूर्ण घडीमा निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै कोभिडका कारण उत्पन्न चुनौतीपूर्ण खडीमा अब आउने महासंघको नयाँ नेतृत्वसंँग आगामी दिनमा सघन रुपमा आर्थिक सहकार्य गर्ने समेत बताउनुभयो । प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासंघका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यूनमात्रै वृद्धि भएको जनाउँदैसरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यावसायिकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय पुँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गर्नुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले कोरोनाका कारण नेपालको आर्थिक क्षेत्र प्रभावित भएकाले कसरी अगाडि बढ्ने भन्नेमा निजी क्षेत्रसमेत अन्योलमा रहेको बताउँदै वैदेशिक रोजगारीबाट फर्किएकालाई काम उपलब्ध गराउन र १० लाख युवालाई रोजगारी उपलब्ध गराउनेतर्फ सचेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्व अध्यक्षहरु क्रमशः महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारकालाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

महासंघको वार्षिक साधारण सभाअन्तर्गतको दोस्रो दिन मंसिर १२ गते जुममार्फत बन्दसत्र आयोजना हुने कार्यक्रम छ । साथै मंसिर १३ गते महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुने कार्यक्रम छ ।