माझी बस्तीको आय–आर्जनमा पालिकाको सहयोग

0
Shares

स्याङ्जा, (नेस)
माछा मारेर गुजारा चलाउँदै आएका पुतलीबजार नगरपालिका–१३ को माझी बस्तीमा पुतलीबजार नगरपालिकाको कार्यालयले कुखुराका खोर निर्माण गरिदिएको छ । माझीहरुको आय–आर्जनमा सहयोग होस् भनेर पुतलीबजार नगरपालीकाले खोर निर्माण गरिदिएको हो ।

पालिकाले कुखुराका खोरमा आवश्यक पर्ने औजार तथा कुखुराका चल्ला, दाना र औषधी व्यवस्था गरिदिएको स्थानीय उमामायाँ माझीले जानकारी दिनुुभयो ।

उहाँले आफूहरुलाई पालिकाले धेरै सहयोग गरेको बताउँदै आवश्यक परेका सामाग्री माग गर्ने गरेको बताउनुुभयो । पुतलीबजार नगरपालिकाले माझी बस्तीका २४ घरधुरीमा ३० लाखको लगानी गरी २४ वटा कुखुराका खोर, २ वटा घर र गोरेटो बाटो निर्माण गरिदिएको छ । २४ घरधुरीका १ सय २५ जना माझी लाभान्वित भएका छन् ।

त्यसै गरी पालिकाले कुखुरालाई आवश्यक पर्ने दाना र औषधी पानी उपलब्ध गराएको छ । माझी बस्तीको अवलोकन गर्दै पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले उहाँहरुको दयनीय स्थिति देखेर संघीय सरकारसँग समन्वय गरी ३० लाख माझी बस्तीमा सहयोग गरेको जानकारी दिनुुभयो । नगरप्रमुख क्षेत्रीले माझी बस्तीको उत्थानका लागि अझै पुतलीबजार नगरपालिकाले सहयोग गर्न चाहेको बताउनुुभयो ।

पुतलीबजार नगरपालिकाको कार्यालयबाट आर्थिक तथा प्राविधिक सहयोगपछि नेपालबाटै लोपोन्मुख अवस्थामा रहेको माझी बस्तीको मुहारै फेरिएको छ । माझी बस्तीमा खरले छाएका पुराना घरहरुलाई अहिले जस्ताले सझाइएको स्थानीयहरुको भनाइ छ ।

स–साना बच्चाबच्ची अध्ययनका लागि विद्यालय जाने गरे पनि वयश्क युवायुवती र जेष्ठ नागरिकहरु माछा मार्ने र गिटी–बालुवा बोकेरा गुजारा चलाउँदै आएका छन् ।