सडक हडप्नेमाथि प्रहरीको नजर

0
Shares

पाल्पा, (नेस)
जिल्ला सदरमुकाम तानसेनमा जथाभावी पार्किङ तथा पसल राख्दा सडकपेटीसमेत ओगट्ने प्रवृत्ति बढेपछि त्यसलाई व्यवस्थित गर्न प्रहरी लागिपरेको छ । अनधिकृतरूपमा यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि नगर प्रहरी, ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले सो कार्य शुरु गरेको हो ।

निर्णय भएअनुरुप सडक ओगटेर राखिएका सामान हटाउने तथा जफत गर्ने कार्य अघि बढेको छ । यस प्रयासअन्तर्गत तानसेनका विभिन्न टोलमा सलभन्दा बाहिर सामान राखेर व्यवसाय गरेका व्यापारीको सामान जफत गर्ने, तानसेनमा सडक अवरोध हुने गरी सामान नराख्न माइकिङ गर्ने, अव्यवस्थित पार्किङ गरिएका सवारीसाधनसम्बन्धी अनुगमन गर्ने कार्य गरिएको प्रहरीले जनाएको छ ।

गएको हप्ता जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको अध्यक्षतामा भएको सरोकारवालाको बैठकले तानसेन नगरपालिकाले सात दिनभित्र पार्किङस्थलको निर्धारण गर्ने र मर्मतसम्भार गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, सवारीसाधनको आवत–जावत व्यवस्थित गर्न जेब्राक्रसिङ, पार्किङ सुविधा तथा अन्य सुधारका लागि अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

पछिल्लो समय तानसेनमा अव्यवस्थितरूपमा पार्किङ गर्ने कार्य बढेको, पसल अगाडि व्यापारीले सडक जाम गरेर व्यापार गर्ने गरेको गुनासो देखिए पछि जिल्ला प्रसासन कार्यालयले चासो देखाएको हो ।