बालविवाहले कानुन कार्यान्वयनमा चुनौती

0
Shares

सिर्जना पन्त, बागलुङ

जिल्ला स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क हेर्दा बागलुङमा बालिका आमाको संख्या ठूलो छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र २० वर्षभन्दा कम उमेरमा १ हजार १ सय १८ जना किशोरी गर्भवती रहेको तथ्याङ्क छ ।

उनीहरुले जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्थामा पहिलोपटक गर्भ जाँच गराएका थिए । तथ्याङ्कअनुसार ८ सय २५ जना बालिकाले चौथोपटक गर्भ जाँच गरेका छन् । सरकारको नियमअनुसार चारपटक गर्भजाँच गराउनेको संख्या भने ५ सय ३६ जना मात्र छ ।

यसै गरी, आर्थिक वर्ष २०७६÷७७ मा २० वर्षभन्दा कम उमेरमा ८ सय ७५ जना किशोरीले पहिलोपटक गर्भ जाँच गराएका छन् । ६ सय ८९ जना किशोरीले चौथोपटक गर्भ जाँच गराएको भए पनि चार पटकसम्म गर्भ जाँच गराउनेको संख्या भने ४ सय ५१ मात्र छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाको सन्त्रासका कारण गत आर्थिक वर्षमा स्वास्थ्य संस्था
आएर गर्भ जाँच गराउनेहरुको संख्यामा कमी आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं बताउनुहुन्छ ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएका सबै किशोरी विवाहित हुन् । सरकारले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानुनी भन्दै कानुन उल्लङ्घन गर्नेलाई बढीमा तीन वर्ष कैद र १० हजार रुपियाँ जरिवाना व्यवस्था गरेको छ । बालिका आमाहरुको संख्या ठूलै भए पनि बागलुङमा बालविवाहको कुनै यकिन तथ्याङ्क भने छैन ।

बालविवाह गैरकानुनी भए पनि यहाँका न्यायीक समितिमा अहिलेसम्म एउटा पनि बालविवाहसम्बन्धी उजुरी परेको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङमा आर्थिक वर्ष २०७६÷७७ मा २ वटा बालविवाहका उजुरी दर्ता भएका थिए ।

सानो उमेरमा गरिएका विवाहले महिलाको प्रजनन स्वास्थ्यमात्र असर नगरेर पारिवारिक, समाजिक र आर्थिकरूपमा समेत प्रभाव पार्ने गरेको एडभोकेसी फोरमका संयोजक अधिवक्ता राम शर्मा बताउनुहुन्छ । आत्मनिर्भर नबन्दै घर–परिवार र व्यावहारिक जिम्मेवारीले गर्दा किशोरीमाथि घरेलु हिंसा, आर्थिक हिंसा हुँदै सम्बन्ध विच्छेद हुनेसम्मका घटनाहरु बढ्न थालेको शर्माको भनाइ छ ।

समाज र परिवारले बुझ्दाबुझ्दै पनि कानुनविपरीत बालविवाह भइरहेका कारण बालिका आमाहरुको संख्यामा वृद्धि भएको संघीय सांसद डा. सूर्य पाठकको भनाइ छ ।