फरक क्षमता भएकालाई कुँवरको सहयोग

0
Shares

काठमाडौं, (नेस)
रिक्साचालकबाट शुरु भएको यात्रा कोरोना कहरसम्म निरन्तर चलिरहेको छ । आफूले संघर्षशील जीवन बिताएर आएको हुँदा दुःखमा चुलो नबल्नेका लागि हातमुख जोर्ने मेसो मिलाउँदै २७औं चरणको राहत वितरण गर्नुभयो ताराबहादुर कुँवरले ।

सामाजिक सञ्जालमा कलाकारलाई पनि गाह्रो परेको खबर सुनेर लोकदोहोरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीलाई चेक दिन बोलाएका कँुवर एकाएक आफै माइक समाउँदै सामान हाल्दै कीर्तिपुरमा रहेका फरक क्षमता भएकाहरु (दृष्टिविहीन)लाई सहयोगी हात बढाउन पुग्नुभयो ।

विनाखबर प्रमुख अतिथि बन्न पुग्नुभयो बद्री पंगेनी, अनि शुरु भयो राहत वितरण । ५१ जनालाई २७औं चरणमा वितरण गरिएको राहतमा प्रतिव्यक्ति १५ सय रुपियाँबराबरको चामल, दाल, तेल, नुन र मस्यौरा थियो ।

कु्ँवर आफै दीनदुःखी खोज्दै राहत वितरण गर्नुहुन्छ । चक्रपथ सरसफाइ अभियानका अभियन्ता उहाँले पाँचौंपटकसम्म रगतको अभावलाई मध्यनजर गरी रक्तदान अभियान पनि चलाइसक्नुभएको छ ।

कीर्तिपुरको कार्यक्रममा प्रमुख अतिथि पंगेनीले अझै पनि गणतन्त्र आएको छैन है भन्ने बोलको गीतबाट मनोरञ्जन गराउनुभएको थियो भने सयौं जुनीसम्म यस्ता फरक क्षमता भएकाहरुलाई नेपाल आमाले धेरै ताराबहादुरहरु जन्माउनुभएकाले कोही पनि भोको हुन नपर्ने बताउनुभयो ।

उहाँले यसमा आफ्नो कुनै पनि सहयोग नरहेको स्पष्ट पार्नुभयो । उहाँले आवश्यक परेमा आफू पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

फरक क्षमता भएका अर्जुन बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर पनि गर्नुभएको थियो । कार्यक्रममा कुँवरले पीडितलाई राहत वितरण गर्दा आफूलाई ऊर्जा प्राप्त हुने भएकाले हौसिएर यस कार्यमा लागेको बताउनुभयो । उहाँले आफूले यी सबै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।